नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुराना राजनीतिक दलका नाममा समाजमा गलत भाष्य फैलाएर लोकतान्त्रिक दलहरूलाई कमजोर बनाउने सुनियोजित प्रयास भइरहेको आरोप लगाउनुभएको छ ।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले धर्म, जात र भूगोलका नाममा समाज विभाजन गर्न नसकेपछि अहिले नयाँ र पुरानाका नाममा राजनीतिक दलहरूमाथि प्रहार भइरहेको दाबी गर्नुभयो ।
विश्वका स्थापित लोकतान्त्रिक देशहरूमा पनि पुराना दलहरूले नै शासन सञ्चालन गरिरहेको उदाहरण दिँदै उहाँले नेपालमा पुराना दललाई विस्थापित गर्नुपर्छ भन्नुको कुनै आधार नरहेको बताउनुभयो । पार्टी पुरानो वा नयाँ भन्ने नहुने र समयअनुसार अद्यावधिक हुनुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले ‘दलहरू र नेताहरूले देश खाए’ भन्ने भ्रामक भाष्य खडा गरेर लोकतान्त्रिक संस्थाहरूप्रति अविश्वास फैलाउन खोजिएको भन्दै लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र संशोधनको दायित्व राजनीतिक दलहरूकै भएको बताउनुभयो ।





प्रतिक्रिया थप्नुहोस्