भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग मानव तस्करीकाे प्रमुख माध्यम

नेपालमा मानव बेचबिखनको स्वरूप पछिल्ला वर्षहरूमा परिवर्तन हुँदै गएको तथ्य सार्वजनिक भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग नै मानव तस्करीको प्रमुख माध्यम बन्दै गएको छ ।

विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा आज काठमाण्डाैमा आयोजित कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नकुल पोखरेलले प्रस्तुत गर्नुभएकाे कार्यपत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय मानव बेचबिखनका नयाँ प्रवृत्ति र चुनौतीहरूबारे जानकारी दिइएको हो ।

कार्यपत्रअनुसार नेपालभित्र मनोरञ्जन क्षेत्र (डान्स बार, दोहोरी, मसाज स्पा र होटल) मा हुने यौन तथा श्रम शोषण प्रमुख समस्याका रूपमा देखिएका छन् ।

गएकाे आर्थिक वर्ष २०८२/८३ मा ब्युरोमा दर्ता भएका २० वटा आन्तरिक बेचबिखनका मुद्दामा २१ जना पीडित रहेकोमा १९ बालबालिका थिए । पीडितमध्ये विशेषगरी १८ वर्षमुनिका किशोरी र दलित समुदायका व्यक्तिको सङ्ख्या उल्लेख्य रहेको ब्युरोले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरमा पनि मानव बेचबिखनको स्वरूप परिवर्तन भएको देखिएको छ । भारतमा पिरामिड शैलीको नेटवर्किङ ठगी, किशोरीहरूको अण्डा (ओभम) निकाल्ने कार्य तथा चीनमा विवाहको प्रलोभन देखाएर हुने ओसारपसार सक्रिय रहेको कार्यपत्रमा उल्लेख छ ।

बागमती प्रदेशमा मानव बेचबिखनका पीडितको सङ्ख्या सबैभन्दा धेरै रहेको पनि ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार पछिल्लो समय कम्बोडिया, म्यानमार र लाओसलगायत दक्षिणपूर्वी एशियाली देशमा ‘साइबर स्लाभरी’ र ‘फोर्स्ड क्रिमिन्यालिटी’ नयाँ चुनौतीका रूपमा देखा परेको छ ।

सामाजिक सञ्जालमार्फत आकर्षक तलबको प्रलोभन देखाएर अङ्ग्रेजी र कम्प्युटरमा दक्ष युवालाई अनलाइन स्क्यामिङ, क्रिप्टोकरेन्सी ठगीजस्ता अवैध गतिविधिमा संलग्न गराउने गरिएको छ । त्यसैगरी अमेरिका तथा युरोप प्रवेशका लागि प्रयोग हुने ‘डन्की’ रुट पनि नेपालीका लागि जोखिमपूर्ण बन्दै गएको छ । दक्षिण अमेरिकाका विभिन्न देश हुँदै अवैधरूपमा अमेरिका प्रवेश गर्ने क्रममा धेरै नेपाली ठगी र जोखिममा पर्ने गरेका छन् ।

ब्युरो स्थापना भएदेखि अहिलेसम्म अमेरिकासँग सम्बन्धित यस्ता ३२ वटा मुद्दा दर्ता भएका छन् । त्यसैगरी भिजिट भिसामा हुने विदेश प्रस्थानमा कडाइ गर्ने, गन्तव्य देशमा नेपाली नियोगको पहुँच विस्तार गर्ने तथा पीडितका लागि पर्याप्त पुनर्स्थापना केन्द्र र क्षतिपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा पनि ब्युरोले जोड दिएको छ ।

ब्युरोका अनुसार स्थापना भएदेखि अहिलेसम्म देशभर मानव बेचबिखन तथा ओसारपसारका १ हजार २५४ वटा मुद्दा दर्ता भएका छन् भने २ हजार ७५० जना पीडितको उद्धार भएको छ ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको