सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, ८०.५६ प्रतिशत बजेट खर्च

रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा कुल बजेटको ८०.५६ प्रतिशत खर्च गरेको जानकारी सार्वजनिक गरेको छ। बिहीबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा सो विवरण प्रस्तुत गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले आर्थिक वर्षभरि सम्पन्न बजेट कार्यान्वयन, विकास निर्माण र सेवा प्रवाहको अवस्था बारे विस्तृत जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार गाउँपालिकाको सो अवधिमा कुल बजेट ५३ करोड २८ लाख ७७ हजार ४४० रूपैयाँ रहेको थियो।

पुँजीगत खर्चतर्फ १५ करोड ४१ लाख ९५ हजार ६८५ रूपैयाँ विनियोजनमा ७६.२५ प्रतिशत खर्च भएको छ भने,

चालु खर्चतर्फ ३० करोड ४२ लाख ७३ हजार २२६ रूपैयाँमध्ये ८२.९५ प्रतिशत बजेट खर्च गरिएको जानकारी गराइयो।


कार्यक्रममा ५ वटै वडामा सञ्चालन गरिएका ७८ वटा योजनाहरू समयमै सम्पन्न भई सबै भुक्तानीसमेत गरिएको जानकारी दिँदै श्रेष्ठले योजना कार्यान्वयनमा पालिकाले प्रभावकारी प्रगति गरेको दाबी गर्नुभयो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, शुद्ध खानेपानी, कृषि सहायता, सामाजिक सुरक्षा भत्ता, सेवाप्रवाहमा ढिलासुस्ती, पारदर्शिता र वडास्तरीय प्राथमिकता निर्धारण जस्ता विषयमा प्रश्न र सुझाव राखेका थिए।

उनीहरूको जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, वडा अध्यक्षहरू तथा सम्बन्धित शाखा प्रमुखहरूले विस्तृत रूपमा जवाफ दिनुभएको थियो।

कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले नागरिकका सुझाव र आलोचनालाई सकारात्मक रूपमा लिने प्रतिबद्धता जनाउनुभयो। उहाँले आगामी योजना निर्माण तथा कार्यान्वयनमा स्थानीयको अभिमतलाई प्राथमिकतामा राखिने स्पष्ट गर्नुभयो।

सार्वजनिक सुनुवाइ कार्यक्रमले गणतान्त्रिक अभ्यासको सुदृढीकरण, उत्तरदायी स्थानीय शासन, र जनप्रतिनिधि तथा सेवाग्राहीबीचको संवाद सुदृढ गर्न सघाउ पुगेको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको