चुनावको तयारी तीव्र पारेका छौँ : लामिछाने

सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ । कतिपय ठुला दलले निर्वाचनको तयारी र वातावरण निर्माणमा संशय गरिरहेका बेला जिल्ला निर्वाचन कार्यालय, रामेछापले निर्वाचनको तयार कसरी गरिरहेको छ भन्ने विषयमा केन्द्रित रहेका निर्वाचन अधिकृत नारायण लामिछानेसँग गरिएको कुराकानी :
फागुन २१ गते तय भएको निर्वाचनको तयारी रामेछापमा कसरी भइरहेको छ ?
निर्वाचन आयोगले दिएको निर्देशन बमोजिम जिल्ला निर्वाचन कार्यालयले काम गरिरहेको छ । असोज ९ देखि मङ्सिर ७ गतेसम्म मतदाता नामावली सङ्कलनको काम भइसकेको छ । राष्ट्रिय परिचय पत्रबाट झन्डै ५ हजार र कार्यालयबाटै १ हजार २ सय ३५ जनाले नाम दर्ता गरेका छन् । यस्तै मतदान स्थलको पुनरावलोकनको काम सकेर मतदान स्थलको सङ्ख्या निर्णय गरेर पठाइसकेका छौँ । विगतमा २ सय २६ मतदान केन्द्र थियो, त्यही विवरण पठाएका हौँ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने गरी मतदान केन्द्र र मतदान स्थलको निर्णय भएको हो । जनसङ्ख्याको आधारमा केही मतदान केन्द्र बढ्न सक्छ भन्ने कुरा भएको छ । प्रशासन र स्थानीय तहसँग समन्वय भइरहेको छ । अद्यावधिकको काम पनि भर्खरै सकेका छौँ ।  प्रत्येक वडासँग समन्वय गरेर मृत्यु भएको व्यक्तिको विवरण अनुसार अद्यावधिक गरेर हटाइएको छ । त्यस्तै रामेछापबाट नागरिकता लिएर त्याग गरेकाहरूको विवरण मतदाता परिचयमा रहेको भए हटाउने काम भएको छ । भर्खरै मतदानमा आवश्यक पर्ने सामग्री जिल्लाबाटै खरिद गर्ने गरी निर्देशन भएको छ । संवेदनशील सामग्री आयोगले र ३४ थरी सामग्री जिल्लाले खरिद गर्ने निर्देशन अनुसार काम हुँदैछ । उद्योग वाणिज्य सँग समन्वय भइरहेको छ, खरिद प्रक्रियाको तयारीमा छौँ । यो बाहेक समन्वय र सहकार्यका कामहरू भइरहेको छ । 
स्थानीय तहसँग कस्तो समन्वय भइरहेको छ ?
स्थानीय तहसँग मतदाता नामावली अद्यावधिकका लागि समन्वय गरेका थियौँ । बसाइसराई, मृतक, बसाइ सरेर आएकाहरूको विवरण पठाइदिन आग्रह भएको थियो । त्यस्तै अस्थायी मतदाता नामावली, निर्वाचनमा खट्ने जनशक्ति कति हुन सक्छ, हामीलाई कति जनशक्ति आवश्यक पर्छ र रामेछापमा कति जनशक्ति आवश्यक पर्छ भन्ने कुरामा स्थानीय कर्मचारीको सङ्ख्या माग गरेकोमा अधिकांश स्थानीय तहले कर्मचारीको सङ्ख्या पठाइसकेको छ । पालिकाको समन्वय सकारात्मक छ । 
दलहरूसँगको समन्वय र सहकार्य चाहिँ कस्तो छ नि ? 
दल र नेताहरूसँग प्रत्यक्ष भेटघाट भन्दा पनि मतदान स्थल कायम गर्ने बेला प्रमुख जिल्ला अधिकारीको समन्वयमा पालिका अध्यक्ष–उपाध्यक्षसँग बसेर निर्वाचन कार्यालयको तयारी यस्तो छ भनेर जानकारी गराएका छौँ । नेताहरूसँग पनि राय लिएका छौँ । आयोगले नै समन्वयको काम गरिरहेको छ । 
अहिले सर्वाधिक चासोको रूपमा रहेको विषयबारे कुरा गरौँ, मतदाता नामावलीमा नाम छुटेकाहरूले नाम दर्ता गर्नुपर्दा के कस्तो विधि छ ? 
नाम छुटेकाहरू अहिले पनि कार्यालयमा आउने बुझ्ने गरिरहनुभएको छ तर नामावली दर्ताको काम सिस्टममा नै रोकिइसकेको छ । अहिले सिस्टममा नै देखाउँदैन र नयाँ दर्ता गर्न मिल्दैन । अव नाम दर्ता खुलेपछि मात्र नाम दर्ताको काम हुनसक्छ ।
मतदाता नामावली दर्ता गर्न युवाहरूको सहभागिता कस्तो पाउनुभयो ? रामेछापमा के कतिले दर्ता गरेको तथ्याङ्क छ ?
मतदाता नामावली दर्ता गर्न कार्यालयमा आउने भनेकै युवा हुन् । अघिल्लो पटक मतदान गरिसकेकाहरूको दर्ता भइसकेको हुन्छ । दर्ता गरिसकेकाहरू एकदम कम मात्रै कार्यालयमा आउनुहुन्छ । तथ्याङ्कको कुरा गर्दा राष्ट्रिय परिचयको माध्यमबाट ५ हजार जति र कार्यालयमा आउने सङ्ख्या १ हजार २ सय ३५ छ । तिनमा महिला ४ सय ८५ र पुरुषको सङ्ख्या ७ सय ५० छ । यो डाटा हेर्दा युवाको सङ्ख्या नै धेरै छ । 
फागुन २१ मा निर्वाचन हुनेमा ठुला दलहरू र विश्लेषकहरूले नै आशङ्का व्यक्त गरिरहेका छन् ? तपाईँ के भन्नुहुन्छ ? 
चुनाव हुन्छ । यसको कुनै विकल्प छैन । त्यसका लागि आयोग र जिल्ला निर्वाचन कार्यालयले सबै काम गरिसकेका छन । हामी तयारी अवस्थामा छौँ । निर्वाचनमा चाहिने सामग्री, जनशक्ति, सुरक्षा आङ्कलन तथा सामग्री व्यवस्थापन गरिरहेका छौँ । निर्वाचन गराउने तयारी लगभग सबै पूरा भइसकेको छ । अब सबैको सहयोग र सहकार्य आवश्यक छ ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको