रामेछाप । रामेछापको मन्थलीस्थित केब्स (केप्स) स्कुलले स्काउटका विद्यार्थीहरूलाई मन्थली बजार नजिकैको सुकाजोर खोला बगर क्षेत्रमा एकदिवसीय हाइकिङ गराएको छ। विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत शनिबार आयोजित हाइकिङमा कक्षा ६, ७ र ८ का ७५ जना स्काउट विद्यार्थी सहभागी भएका थिए।
विद्यालयका प्रधानाध्यापक केशव तिमल्सिनाका अनुसार स्काउटिङ शिक्षाको अभिन्न अङ्गका रूपमा यस प्रकारका कार्यक्रम हरेक वर्ष सञ्चालन हुँदै आएका छन्। सहभागी विद्यार्थीहरूलाई नौ समूहमा विभाजन गरी गन्तव्यको पूर्वजानकारी नदिई आफैं बाटो पहिचान गर्दै पुग्नुपर्ने अभ्यास गराइएको उहाँले बताउनुभयो।
डे क्याम्प अवधिमा विद्यार्थीहरूले दाउरा सङ्कलन, पानीको जोहो तथा आगो बालेर आफैं खाना पकाउने अभ्यास गरेका थिए। साथै जङ्गल हाइक, प्राकृतिक सामग्री सङ्कलन र आँखामा पट्टी बाँधी डोरीको सहारामा बाटो पहिचान गर्ने ‘ब्लाइन्ड वाक’ जस्ता साहसिक गतिविधिमा सहभागी गराइएको थियो। कार्यक्रम अवधिभर बाह्य तयारी खाजा (जङ्क फुड) निषेध गरिएको विद्यालयले जनाएको छ।
प्रधानाध्यापक तिमल्सिनाका अनुसार यस्ता कार्यक्रमबाट विद्यार्थीहरूमा समन्वय क्षमता, व्यावहारिक जीवनोपयोगी सीप तथा विषम परिस्थितिमा उपलब्ध स्रोतसाधनको प्रयोग गरी बाँच्न सक्ने क्षमता विकास गर्ने उद्देश्य लिइएको हो। “विद्यार्थीलाई भाँडा प्रयोग नगरी खाना पकाउने जस्ता जीवनोपयोगी सीपसमेत सिकाइएको छ,” उहाँले भन्नुभयो।
विद्यालयमा वि.सं. २०७१ सालदेखि औपचारिक रूपमा स्काउट कार्यक्रम सञ्चालन हुँदै आएको छ। हाल करिब ११० जना विद्यार्थी स्काउट कार्यक्रममा आबद्ध रहेका छन्। विद्यालयले रामेछाप जिल्लामा ‘जुनियर स्काउट’ कार्यक्रम सञ्चालन गर्ने एक मात्र विद्यालय भएको दाबी गरेको छ।
विद्यालयले स्काउटिङमार्फत समाजसेवाको भावना भएका जिम्मेवार र सक्षम नागरिक उत्पादन गर्ने लक्ष्यसहित क्याम्प फायर, सामाजिक सरसफाइ तथा स्वयंसेवामूलक गतिविधि नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।
प्रतिक्रिया थप्नुहोस्