मसानटारमा दुर्घटनापछि अरनिको यातायातको मन्थली सेवा वन्द


नेपाल अरनिको यातायात सेवा प्रा.लि.ले काठमाडौँ–खुर्कोट–मन्थली सडकखण्डमा सञ्चालन हुँदै आएका सम्पूर्ण बस सेवाहरू हालका लागि स्थगित गरेको छ ।
रामेछापको मन्थली नगरपालिका–६ स्थित मसानटारमा भएको दुर्घटनाका कारण सुरक्षा जोखिम बढेको भन्दै कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि उक्त मार्गका सबै 'क्यू' हरू रोक्ने निर्णय गरेको हो ।
प्रा.लि.को केन्द्रीय कार्यालय लोकन्थली, भक्तपुरद्वारा बिहीबार जारी गरिएको एक प्रेस विज्ञप्ति अनुसार, यात्रुको सुरक्षा र सडकको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यो कदम चालिएको हो । सहायक कार्यालय प्रमुख विकास लामाद्वारा हस्ताक्षरित सो सूचनामा भनिएको छ, “काठमाडौँबाट खुर्कोट हुँदै मन्थली जाने बाटो प्रयोग गरी सञ्चालन हुने सम्पूर्ण बस सेवाहरू सुरक्षा जोखिमका कारण हाललाई स्थगित गरिएको ब्यहोरा सम्बद्ध व्यवसायी, मजदुर तथा कर्मचारीहरूमा जानकारी गराइन्छ ।”
पछिल्लो समय मसानटार क्षेत्रमा भएको सवारी दुर्घटनाले उक्त सडकखण्डमा यात्रा गर्न जोखिमपूर्ण देखिएपछि यातायात समितिले सेवा रोक्ने निर्णय लिएको बुझिएको छ । सेवा अवरुद्ध हुँदा मन्थली र आसपासका क्षेत्रका यात्रुहरूलाई केही समयका लागि मर्का पर्ने देखिए तापनि सुरक्षाका दृष्टिकोणले यो निर्णय अनिवार्य रहेको समितिले जनाएको छ ।

 

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको