रामेछाप। पर्यटन पूर्वाधार भएर पनि ओझेलमा परेको रामेछाप नगरपालिका क्षेत्रको प्रवर्द्धनका लागि मङ्सिर ५ र ६ गते दुईदिने ‘रामेछाप सम्पदा पदयात्रा’ आयोजना गरिने भएको छ । रामेछाप नगरपालिका, सूर्यचका फाउन्डेसन र रामेछाप नगर उद्योग वाणिज्य सङ्घको संयुक्त व्यवस्थापनमा हुने पदयात्रामा काठमाडौँलगायत विभिन्न जिल्लाका करिब एक सय सम्पदाकर्मी, सञ्चारकर्मी तथा स्थानीय अगुवाको सहभागिता रहनेछ ।
पदयात्रा व्यवस्थापनमा जुट्नुभएका सामाजिक अभियन्ता अनिल लेकालीका अनुसार पहिलो दिन रामेछाप–९ स्थित ऐतिहासिक ल्याङल्याङ भीमसेनस्थानबाट सम्पदा पदमार्गको घोषणासहित यात्रा सुरु हुनेछ । सो दिन टोलीले डुकुरसिं डाँडास्थित नेपालकै ठुलो मानिएको नृत्यरत गणेशको मूर्ति, अङ्ग्रेज फौज रोक्न बनाइएको ऐतिहासिक तिल्केस्थानगढी, पुरातात्त्विक केवलेश्वर महादेव मन्दिर, बाबिँयाखर्क र भङ्गेरीको नेवार संस्कृतिको अवलोकन गर्नेछ ।
त्यसैगरी, भङ्गेरीस्थित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र सहिद गङ्गालाल श्रेष्ठको जन्मथलो, रामेछाप बजारको ऐतिहासिक निशान भगवती मन्दिर र सैनिक पार्कको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । यात्राका क्रममा पश्चिमको गणेश हिमालदेखि पूर्वको नुम्बुर हिमालसम्मका मनमोहक शृङ्खला अवलोकन गर्न सकिनेछ ।
दोस्रो दिन रामेछाप बजारनजिकै पुनर्निर्मित पशुपति मन्दिरको दर्शन गरी ताराखसे पोखरी, भालुखोप भ्यु टावर हुँदै एसियाकै अग्लो बुद्धको मूर्ति निर्माणस्थल ओख्रेनी पुग्नेछ । रामेछापको पहिचान बनेको जुनार बगैँचाको अवलोकन गर्दै भालुखोप बजारमा पुगेर पदयात्रा समापन हुनेछ । यस पदयात्राले जिल्लाका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसार भई पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया थप्नुहोस्