रामेछाप । रामेछाप नगरपालिका–२ देउरालीमा निर्वाचन सामग्री र कर्मचारी बोकेको सवारी साधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
सोमबार अपरान्ह भएको उक्त दुर्घटनामा परी नेपाल प्रहरीका सहायक निरीक्षक (असई) परशुराम यादव र वडा कार्यालय रामेछाप नगरपालिका–३ साँघुटार मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत डोरप्रसाद घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
मृतक घिमिरे मन्थली नगरपालिका–६ निवासी तथा रुद्राक्षेश्वर माध्यमिक विद्यालय, मुगिटारका निम्न माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक हुनुहुन्थ्यो।
रामेछाप नगरपालिका–२ देउरालीस्थित शितलादेवी माध्यमिक विद्यालय र वडा नं. ३ साँघुटारको वडा कार्यालयमा स्थापना गरिएको मतदान केन्द्रका कर्मचारी तथा निर्वाचन सामग्री लिएर गएको निसान कम्पनीको ना ४ ख ६७६८ नम्बरको मिनी ट्रक देउरालीको सिरुवारी क्षेत्रमा ब्याक गर्ने क्रममा दुर्घटनामा परेको स्थानीयवासीले बताएका छन्।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई पुरुष र तीन महिला रहेका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो।
दुर्घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया थप्नुहोस्