करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गएको असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा भएको छ ।
आन्तरिक राजस्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम आयोजना गरेर पुरस्कार घोषणा गरेको हो ।
यस पटक नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको बम्पर उपहार जित्नुभएको छ । उहाँले दशैँकाे अवसरमा नुवाकोटमा रहेको एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँ बराबरको सामान किनेर लिनुभएको बिलको कुपन नम्बर ०८१६३२५१५८९ उपहारका लागि छानिएको हो ।
यस्तै असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका १६ जना विजेता पनि छनोट भएका छन् । उनीहरूले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
आन्तरिक राजस्व विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मको अवधिमा बिल प्रणालीमा प्रविष्ट गर्ने २ लाख ७५ हजार ८८४ कारोबार र क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबार गरी ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा सहभागी भएका थिए ।
उपहार जित्नेले आफूले खरिद गरेको सामानको सक्कल बिलसहित आउँदो कात्तिक १५ गतेभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने विभागले जनाएको छ ।
सरकारले बिलबिजक लिने/दिने संस्कृतिलाई प्रवर्द्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरू गरेको हो ।
१०० रुपैयाँभन्दा धेरैका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था छ ।









प्रतिक्रिया थप्नुहोस्