रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले हाइड्रोपावर कम्पनीका प्रतिनिधिबाट जनप्रतिनिधिमाथि दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गाउँपालिकाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ मा सडक बोर्ड नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको धारापानी–सिरिसे सडक मर्मत योजनाअन्तर्गत वडा नं. २ मा निर्माणाधीन सेती खोला आसपासको सडक तथा नाला निर्माण कार्यमा अवरोध पुर्याइएको जनाएको हो।
विज्ञप्तिअनुसार निर्माण कार्य सञ्चालन भइरहेका बेला स्वीटाङ्ग हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका प्रतिनिधिहरूले हाइड्रोपावर आयोजनासँग सम्बन्धित विषयलाई लिएर निर्माण कार्य रोक्न दबाब दिएका थिए। साथै आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा सहभागी हुन गइरहेका जनप्रतिनिधिलाई बाटोमै रोकी स्थानीय सरकारद्वारा सञ्चालित निर्माण कार्यले आयोजनामा असर पारेको बहाना बनाउँदै कार्य अवरुद्ध गराइएको तथा वडा नं. २ का अध्यक्ष सन्तोष पौडेलसहित जनप्रतिनिधिमाथि गालीगलौज र अमर्यादित व्यवहार गरिएको गाउँपालिकाको दाबी छ।
गाउँपालिकाले कुनै आयोजना, सम्झौता वा निर्माण कार्यसँग सम्बन्धित विवाद भए कानुनी तथा संस्थागत प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा विकास निर्माणका काममा प्रत्यक्ष अवरोध सिर्जना गर्नु र निर्वाचित जनप्रतिनिधिमाथि अमानवीय व्यवहार गर्नु कानुन, लोकतान्त्रिक मूल्य–मान्यता तथा सुशासनको भावनाविपरीत भएको स्पष्ट पारेको छ।
नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकारबमोजिम स्थानीय सडकको संरक्षण, सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी गाउँपालिकाले निर्वाह गर्दै आएको उल्लेख गर्दै विज्ञप्तिमा हाइड्रोपावर आयोजनाले सार्वजनिक सडकको दीगो उपयोगलाई बेवास्ता गरी संरचना निर्माण गर्दा आवागमनमा अवरोध सिर्जना भएको विषयप्रति समेत चिन्ता व्यक्त गरिएको छ।
गाउँपालिकाले सार्वजनिक विकास निर्माणका कार्यमा अवरोध पुर्याउने, स्थानीय सरकारको संवैधानिक अधिकारमाथि चुनौती सिर्जना गर्ने तथा जनप्रतिनिधिमाथि अमर्यादित व्यवहार गर्ने कार्यमा संलग्न आयोजनाका प्रमुख तथा जिम्मेवार कर्मचारीमाथि प्रचलित कानुनबमोजिम आवश्यक छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नगरिए स्थानीय तहमा असन्तुष्टि बढ्न सक्ने तथा त्यसबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिको जिम्मेवारी सम्बन्धित हाइड्रोपावर कम्पनीले नै वहन गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष केशव महतद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय विकास निर्माणका कार्यलाई निर्वाध रूपमा अघि बढाउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरिएको छ।



2026-07-23-04-07-16.jpeg)







प्रतिक्रिया थप्नुहोस्