सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक आज बुधबार बिहान बस्दै छ ।
रास्वपाका अनुसार बैठक बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने तय भएको छ । छलफलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दलहरूलाई पनि आमन्त्रण गरिएको छ ।
सभापति लामिछानेले सम्बन्धित दलका नेताहरूलाई पत्राचार गर्नुका साथै व्यक्तिगत रूपमा फोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । सुनसरीको संवेदनशील र दुःखद घटनापछि सामाजिक सद्भाव, शान्ति-सुरक्षा र द्वेष न्यूनीकरणका लागि राजनीतिक तहबाट साझा सन्देश र अपिल आवश्यक ठानेर यो बैठक आयोजना गरिएको उनले बताए ।
यसैबिच, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे मंगलबार मध्यरातमा एक आह्वान गर्दै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन् ।फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले घटनाका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।









प्रतिक्रिया थप्नुहोस्