रामेछाप। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारलाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको छ।
सांगठनिक नीति तथा निर्देशनअनुसार व्यावसायिक रूपमा उत्कृष्ट कार्यसम्पादन गर्दै जघन्य अपराधमा संलग्न अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको भन्दै जैसवारलाई उक्त सम्मान प्रदान गरिएको हो।
प्रदेश प्रहरी कार्यालयका अनुसार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, शरीर बन्धक तथा नगद र सुनचाँदी लुटपाटलगायतका घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्न जैसवारको नेतृत्वमा प्रहरीले सफलता हासिल गरेको थियो।
त्यस्तै, २०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासतबाट फरार भएका जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गर्न पनि उहाँ सफल हुनुभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
रामेछापका चार र दोलखाका दुई गरी छ जना वृद्धवृद्धालाई नशालु पदार्थ सेवन गराई गरगहना चोरी गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनसमेत जैसवारको महत्वपूर्ण भूमिका रहेको जनाइएको छ।
फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका १० जना फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना असुल गराउनसमेत उहाँको नेतृत्वमा प्रहरीले काम गरेको थियो।
यसैगरी, अपराध रोकथाम, आत्महत्या नियन्त्रण, घरेलु तथा महिला हिंसा, लागुऔषध दुर्व्यसन र साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दीपक रेग्मीले हस्ताक्षर गर्नुभएको पत्रमार्फत जैसवारलाई बधाई ज्ञापन गर्दै ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०७९’ अनुसार भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरिएको जनाइएको छ।









प्रतिक्रिया थप्नुहोस्