भोलिदेखि जन्तरमन्तरमा प्रदर्शन गर्दै ककरोच पार्टी, दिल्ली प्रहरीले अनुमति दिएन

भारतीय निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले भोलिदेखि दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको छ । तर, हालसम्म दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति दिएको छैन ।

सीजेपीको प्रदर्शनलाई विपक्षी दलहरूले समर्थन गरेका छन् । प्रदर्शनअघि दिल्ली प्रहरीले ५७ वटा मेट्रो स्टेसनका प्रवेश तथा निकासद्वार बन्द गर्ने निर्णय गरेको छ । भारतीय रेलवेको निर्णयअनुसार नयाँ दिल्ली र हजरत निजामुद्दीन रेलवे स्टेसनबाट सञ्चालन हुने रेल सेवा पनि १० घण्टाका लागि रद्द गरिनेछ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै दिल्ली प्रहरीकी संयुक्त आयुक्त नुपुर प्रसादले सीजेपीका सहसंयोजक सौरभ दासबाट प्रदर्शनसम्बन्धी निवेदन प्राप्त भएको बताइन् ।

उनका अनुसार निवेदनमाथि विचार गर्दा प्रदर्शनबारे अत्यन्तै कम समयअघि जानकारी गराइएको पाइएको थियो । निर्धारित निर्देशिकाअनुसार प्रदर्शन गर्नुभन्दा १० दिनअघि नै सूचना दिनुपर्ने व्यवस्था छ ।

प्रसादले यसअघि सीजेपीलाई सोही स्थानमा प्रदर्शन गर्न अनुमति दिइएको भएपनि पार्टीले कानुनी निर्देशन र त्यसबेला दिएको प्रतिबद्धता पालना नगरेको आरोप लगाइन् । उनले भनिन्, ‘यसैलाई ध्यानमा राखेर यसपटक प्रदर्शनको अनुमति दिइएको छैन ।’

उनका अनुसार नयाँ दिल्लीमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागु छ । सार्वजनिक व्यवस्था र सुरक्षा कायम राख्न आवश्यक प्रतिबन्ध लगाइएको भन्दै उनले यसको उल्लङ्घन गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही गरिने चेतावनी दिइन् ।

तर, सीजेपीले प्रदर्शनबाट पछि नहट्ने जनाएको छ । पार्टीले प्रहरीले आफ्ना समर्थकलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिइरहेको आरोपसमेत लगाएको छ ।

सीजेपीका संस्थापक अभिजित दीपकेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अक्टोबर १० मा हुने हाम्रो प्रदर्शनअघि भाजपा सरकारले देशभरबाट हजारौँ युवालाई नियन्त्रणमा लिएको छ । मोदी, तपाईंको डर देखाउने र धम्क्याउने प्रयास सफल हुने छैन । देशका युवा अब तपाईंसँग डराउँदैनन् । म भोलि दिल्ली पुग्नेछु र जुनसुकै अवस्थामा पनि जन्तरमन्तरसम्म मार्च गर्नेछु ।’

सात हजार सुरक्षाकर्मी परिचालन गरिँदै

प्रदर्शनअघि दिल्लीमा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कम्तीमा ७० कम्पनी परिचालन गरिने भारतीय समाचारहरूमा उल्लेख छ । ती कम्पनीमा करिब सात हजार सुरक्षाकर्मी छन् । सीआरपीएफको एउटा कम्पनीमा करिब १०० सुरक्षाकर्मी हुन्छन् ।

ती सुरक्षाकर्मी हाल पश्चिम बंगाल र छत्तीसगढमा तैनाथ रहेको र प्रदर्शनअघि दिल्ली पठाउन लागिएको समाचारमा उल्लेख छ ।

छत्तीसगढमा रहेका सीआरपीएफका इकाइहरूलाई आफ्नो सम्पूर्ण परिचालन क्षमता कायम राख्न तथा आवश्यक उपकरण, हतियार र गोलीगठ्ठासहित तयारी अवस्थामा रहन निर्देशन दिइएको उल्लेख छ । उक्त परिचालन गृह मन्त्रालयको निर्देशनमा हुन लागेको जनाइएको छ ।

प्रदर्शनलाई ध्यानमा राख्दै जन्तरमन्तर र आसपासका क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था मिलाउन लागिएको हो ।

सीजेपीले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) का क्रममा अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्न प्रदर्शन आह्वान गरेको हो ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको

↑