१ कराेड २५ लाख खर्च गरेर बनाएको व्यवस्थित बस्तीको अस्तव्यस्त जिन्दगी, अभाव, अशिक्षा र हिंसाका दर्दनाक कहानी

पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको खुर्खुरेबाट दक्षिणतर्फ करिब सात किलोमिटर बाटो छिचोलेपछि एउटा सानो बजार पुगिन्छ। खैरहनी नगरपालिका–१० मा रहेको कठार बजार हो यो। बजारको मुखैमा वडा कार्यालय छ। त्यसको करिब पाँच सय मिटर अगाडि बढेपछि कठार माध्यमिक विद्यालयको सामुन्ने 'व्यवस्थित' देखिने घरहरू भएको एउटा बस्ती देखिन्छ।

सरकारले अघिल्ला दुई आर्थिक वर्ष (२०७५/७६ र २०७६/७७) मा एक करोड २५ लाख रूपैयाँ खर्च गरेर बनाइदिएका घरहरूले बनेको बस्ती हो यो। एकै रङ र आकारका २८ वटा घरधुरीमा बस्नेहरू एक सय ३० जना छन्। यिनैमध्ये एउटा घरमा बस्थ्यो रामचन्द्र माझी र गीताको परिवार।

जेठ १२ गते उनीहरू बेलुकीको खानासँगै रक्सी पिइरहेका थिए। रक्सीले मातिएका रामचन्द्रले गीतालाई यौनसम्पर्कका लागि तयार हुन भने। गीता मानिनन्। रामचन्द्रले रिसमा गीताको मलद्वार र योनीमा हात र काठ हालेर क्षतविक्षत बनाइदिए। 

अहिले थुनामा रहेका रामचन्द्रले प्रहरीलाई दिएको बयानअनुसार आफ्नो यौन तिर्सना मेटाउन नपाएको झोँकमा उनले गीतामाथि शारीरिक हिंसा गरेका हुन्। घाइते गीताको उपचारका क्रममा जेठ १६ गते निधन भयो।

पहिले पनि रामचन्द्रले गीतालाई कुटपिट गरिरहने उनीहरूकी १४ वर्षीया छोरी सुस्मिता बताउँछिन्।

'बुबाले ममीलाई पहिला पनि को–कोसँग सुतिस् भन्दै पिट्नुहुन्थ्यो। हामी छुट्याउन जाँदा उल्टै कुटाइ खान्थ्यौं,' सुस्मिताले भनिन्।

यो कहालीलाग्दो कथा उनको परिवारको मात्र होइन। यहाँका हरेकजसो घरमा अभाव, अशिक्षा र हिंसाका दर्दनाक कहानी भेटिन्छन्। यस्तो अनुभव र घटना उनीहरूको दैनिकीजत्तिकै सामान्य भइसकेको छ।

रामचन्द्रले आक्रमण गर्दा गीता चिच्याएकी थिइन्। उनको पीडा र गुहार सुनेर घर जोडिएका छिमेकी पनि छुट्याउन गएनन्। बस्तीमा कुटपिट, चिच्याहट र बर्बरता नियमित चलिरहने प्रक्रिया न हो!

गीता भरतपुर अस्पतालको शैय्यामा छँदा उनकी कान्छी देउरानी उमाले हातमा घाउको खत देखाउँदै भनेकी थिइन्, 'रक्सी खाएपछि गाली नगरेको र नकुटेको दिनै हुँदैन।'

गीताको मृत्यु भएको पर्सिपल्ट, जेठ १७ गते गाउँलेले राप्ती किनारमा उनको दाहसंस्कार गरे। मलामीमध्येका जितन माझी रक्सीले मातेर घर फर्किएका थिए।

अन्दाजी २० वर्षीया उनकी श्रीमती सञ्जु एक महिनाकी सुत्केरी थिइन्। घर आएर उनले राम्रो खाना नबनाएको निहुँमा झगडा गरे।

'बढी भइस् भने गीताकै हालत बनाइदिन्छु भन्दै लात्तीले हान्यो,' १८ वर्षीया सञ्जुले भनिन्।

सुत्केरीलाई कुटेको घटना स्थानीय बासिन्दा तथा वडा सदस्य ग्यायन्ती पासवानले थाहा पाइन्।

गीताको घटनाको रापताप बाँकी नै थियो। पासवानले प्रहरी बोलाइदिइन्। लोग्ने नहुँदा आफूलाई खानेकुराको जोहो कसले गरिदेला भन्ने चिन्ताले सञ्जुलाई गाँज्यो। उनले जाहेरी दिन मानिनन्। जितन एक रात प्रहरी चौकीमा बसेर फर्किए।

गीताको हत्यामा पनि चार दिनसम्म रामचन्द्रविरूद्ध जाहेरी दिने कोही फेला परेको थिएन। चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जाहेरी नपरेपछि प्रहरी प्रतिवेदनकै आधारमा मुद्दा अघि बढाइएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनमा गत जेठ मसान्तसम्म माझी बस्तीमा विभिन्न १८ वटा फौजदारी घटनाको विवरण छ। तीमध्ये एक गीता माझीको हत्या, अरू दुइटा लागुऔषधका र बाँकी १५ वटा घरेलु हिंसा र कुटपिटका हुन्। कुनै पनि घटनामा जाहेरी नपरेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

कमाइ ल्याउने श्रीमानको भरका कारण घरेलु हिंसाका घटनाहरूमा जाहेरी पर्दैन।

बस्तीको पहिलो घरमा बस्ने कौशिला माझी २० वर्षकी भइन्। घरैअगाडि विद्यालय छ। ‍त्यहाँ पढ्न कहिल्यै गइनन्। नौ वर्षकी हुँदा आमा मेर्खुनिया र बुबा निका माझीले वीरेठाँटीको एउटा होटलमा भाँडा माझ्न पठाइदिएका थिए। १२ वर्षकी भएपछि घर फर्केर ज्याला-मजदुरीमा अल्झिन्। निरन्तरको श्रम र कहालीबाट उन्मुक्तिको सपना देख्न थालिन्।

माझी बस्ती।

कौशिला माझी छोरीसँग। 

नजिकैको गाउँमा थिए रवि चौधरी। एकअर्काप्रति आकर्षण बढ्यो। कलिलो रहरले लतारिएर रविसँगै भागिन्।

'बुवाआमाले पुलिसमा उजुरी गरेछन्। पुलिसले सानै उमेरमा बिहे गर्न पाइँदैन भनेर कागज गरायो,' कौशिलाले भनिन्, 'घर आएपछि गाउँलेले अर्कासँग गइसकेकी केटी घरमा राख्नुहुन्न भनेर रविकै जिम्मा लगाए।'

बिहे गरेको केही वर्षसम्म कौशिलालाई जीवन सामान्य लागेको थियो। पछि रविको सम्बन्ध कौशिलासँग मात्रै सीमित रहेन। कुटपिट पनि सुरू भयो।

'अहिलेसम्म मसहित चार जनालाई बिहे गरिसक्यो,' कौशिलाले भनिन्, 'मेरै भाउजूलाई पनि भगाएर लगेको थियो। पछि दाइले प्रहरीमा उजुरी गरेर फर्कायो।'

रविले भर्खरै अर्की श्रीमती भित्र्याएका छन्। कौशिलाको पेटमा पाँच महिनाको गर्भ छ। उनी छोरीसहित जेठानीकहाँ शरण लिएर बसिरहेकी छन्।

अठार-बीस वर्षका सञ्जु र कौशिलाजस्ता युवती मात्रै होइन, ६० उमेर काटिसकेकी छिङुरी माझीले समेत लोग्नेबाट कुटाइ खाइरहेकी छन्। पहिलो श्रीमान बितेपछि उनले भोला माझीसँग बिहे गरेकी हुन्।

'बिहानै रक्सी खाएर आउँछ र कुट्छ,' छिङुरीले भनिन्, 'पहिलो श्रीमान बितेपछि योसँग बिहे गरेकी हुँ।'

उनका पहिलो श्रीमान कपिलदेव बित्दा चार जना छोराछोरी थिए। छिङुरी खोलामा गएर घुँगी र माछा ल्याउँथिन्। बच्चाहरूलाई त्यही ख्वाउँथिन्। बचेको बेच्थिन्। कपिलदेवको किरिया नसक्दै देउरानीले 'तिम्रो बच्चा पाल्ने ठेक्का हाम्रो हो र' भन्न थालिन्। दुई देवरले पनि अर्काको बालबच्चा किन पाल्ने भने।

'त्यही बेला यो भोला माझी काम खोज्दै कताबाट आयो। मेरो हालत देखेर दया लागेछ, यसैले मेरो हात थाम्यो। दुई छोरीको बिहे गरिदियो,' छिङुरीले भनिन्, 'योसँग आएपछि जन्मिएको छोरा १२ वर्षको छ। सञ्जुको लोग्ने जितन पहिलो लोग्नेबाटको मेरो छोरा हो।'

उनका दुई छोरी र छोराहरूको घर यही गाउँमा छ। सबै चामल उनीहरूलाई दिन्छे भनेर भोला शंका गरिरहन्छन्। अरू लोग्नेमान्छेलाई आँखा लगाइस् भनेर पनि गाली गर्छन्।

'बिहान भात पकायो भने अहिले नपका भन्छ। मलाई भोक लाग्यो र पकाइहालेँ भने ऊ आएर कुट्छ,' छिङुरीले भनिन्, 'कुटाइ र माया एउटै हो कि जस्तो लाग्न थालेको छ!'

बिहान ११ बजेतिर छिङुरीले आफ्नो व्यथा सुनाइरहँदा अन्दाजी ६५ वर्षका भोला रक्सीले लट्ठिएर छेउमै बसिरहेका थिए।

उनले आफ्नो बचाउ गर्दै भने, 'काममा कहिलेकाहीँ ढिला हुन्छ। कोसँग गएर आइस् भन्छे। गल्ती गरेको छैन। बिहानै भात पकाए चिसो हुन्छ भनेर ढिलो पकाउनु भनेको हुँ। म गुहु सोहोरेर (सेप्टिक ट्यांकी सफा गर्ने काम) कमाउँछु। त्यही कमाइबाट घर चलाउँछु। बूढाबूढी सँगै रक्सी खाए ठिक छ। मैले एक्लै खाएँ भने झगडा गर्न थाल्छे। आज बिहान काम सकेर रक्सी खाएको हुँ। कसैसँग झगडा गरेको छैन। श्रीमतीलाई गाली चाहिँ गर्छु। यसले पनि अरूको कुरा सुनेर केके भनिराख्छे। सालीसँग गफ गर्दा पनि शंका गर्छे।'

भोला र छिङुरी माझी।

श्रीमानश्रीमतीको आ-आफ्नै गुनासो छ। शंकाले यो बस्तीमा हिंसाको आगो सल्काएको छ।

'यहाँ लोग्नेले नकुटेका आइमाई र झगडा नभएको दिनै हुँदैन,' वडा सदस्य ग्यायन्ती पासवान भन्छिन्।

३७ वर्षीया ग्यायन्ती गत वैशाख भएको स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएकी हुन्। जेठ ६ गते निकालिएको विजय जुलुसमा अघिअघि हिँडेकी ग्यायन्ती अबिरले राताम्मे अनुहार र मालाले भरिएको घाँटी लिएर घर पुगिन्।

घरभित्र पस्न नपाउँदै उनलाई पति राम गोसाईंले बेहोसै हुने गरी कुटे।

कारण थियो– केटा मान्छेहरूको हुलमा सँगसँगै लहर मिलाएर हिँडेको!

'चुनाव प्रचारका बेला अरूको मोटरसाइकलमा किन बसेकी भनेर कुट्नुभयो। जुलुसमा अरू लोग्नेमान्छेलाई आँखा लगाइस् भनेर पनि कुट्नुभयो,' ग्यायन्तीले भनिन्।

उसो त चुनावका बेला ग्यायन्तीको प्रचारमा राम एक महिना खटिए पनि।

'दिनभर सँगै हिँड्यो, बेलुका घर आएपछि कुटाइ खायो,' ग्यायन्ती भन्छिन्, 'घर आएपछि कहिले पातलेसँग लभ गरिस् त कहिले मोटेसँग किन बोलिस् भन्दै कुट्नुहुन्थ्यो।'

१५ वर्षमै बिहे गरेकी चार सन्तानकी आमा ग्यायन्ती सुत्केरी स्याहार्ने, बिहे भोज आदिमा भाँडा माझ्ने जस्ता काम गरेर गुजारा चलाउँछिन्।

भन्छिन्, 'यहाँका मान्छेहरू रक्सी खाएर यत्तिकै जुधिरहन्छन्। बुढाले अति गरेपछि बुढीहरू पनि बच्चा छोडेर भाग्छन्।'

जयश्री माझीको अवस्था अहिले यस्तै छ। उनकी श्रीमती फूलकुमारी पाँच महिनाअघि नै तीन सन्तानलाई छोडेर माइती गाउँमा बस्न थालेकी छन्।

३५ वर्षीय जयश्री सधैं मातेका हुन्छन्। गीता माझीको मृत्यु भएको तीन दिनपछि बिहान ८ बजेतिर भेट्दा भने उनी रक्सी खाएजस्ता देखिएनन्। पैसा रहेनछ। फूलकुमारी नभएपछि घरमा चुल्हो बल्न सकेको छैन। छोराछोरी स्कुल जान छाडेका छन्। अत्यधिक रक्सी सेवनले गलेको ज्यानका जयश्री काम गर्न पनि सक्दैनन्।

'उसले गाउँमै किराना पसल चलाउँथी। त्यही कमाइबाट घर चल्थ्यो। केटाकेटी स्कुल जान्थे,' जयश्रीले भने, 'मेरो बुद्धि बिग्रिएर उसले छोडेकी हो। धेरै रक्सी खान थालेपछि म काममा जान नसक्ने भएँ। हिँड्दा हिँड्दै ढल्छु। छोराछोरी आमा लिन जाऊ भन्छन्, मलाई उसको अगाडि पर्ने आँट छैन।'

अहिले पनि श्रीमान र तीन सन्तानका लागि खानाको सरजाम र केही खर्च फूलकुमारीकी आमाले पठाइरहेको जयश्री बताउँछन्।

 जयश्री माझी जसको घर उनको अनियन्त्रित मदिरा सेवनका कारण उजाडिएको छ।

जयश्रीसँग कुरा गरेर अघि बढ्दै गर्दा बस्तीमै भेटिए सन्तोष माझी। बिहान साढे ८ बजे नै उनी रक्सीले मातिसकेका थिए।

उनी आफूलाई विशेष ठान्दा रहेछन् किनकी उनको नागरिकता छ।

अघिल्लो दिन राति छोरा र श्रीमतीलाई कुटेर घरबाट लखेटेका उनको हातमा एउटा बट्टा थियो।

त्यो बट्टा देखाउँदै उनले भने, 'हात मर्किएर ब्यान्डेज किन्न गएको थिएँ। फर्किँदा २५ रूपैयाँको रक्सी खाएर आएँ। बिहानै ट्र्याक्टरमा पराल लोड गरेर १०० रूपैयाँ आएको थियो।'

अघिल्लो रात छिमेकीसँग झगडा हुँदा उनको हातमा चोट लागेको रहेछ। गाउँका अरू पुरूषले आफ्नी श्रीमतीलाई 'आँखा लगाउने गरेको' र त्यही निहुँमा झगडा भएको उनले सुनाए।

'हिजो बेलुका श्रीमती र छोरा मलाई छोडेर गए। मेरो नागरिकता छ। यहाँका मान्छेहरूभन्दा म ठूलो हुँ,' रक्सीकै सुरमा उनी भन्दै थिए।

सन्तोषले नागरिकताको धाक यसै लगाएका होइनन्, बस्तीभरिमा जम्मा १२ जनाको मात्र नागरिकता छ। सन्तोष तिनै दर्जन नागरिकमध्ये एक हुन्।

नागरिकतै नभएका एम्पी माझी र झिन्का माझीसँगलाई त आफ्नो उमेर पनि थाहा छैन।

एम्पी सानै छँदा बाराको सिमराबाट बुबाआमासँगै यो ठाउँमा आएर यतै बसेको बताउँछिन्। 

'पहिले नागरिकताको कुरा गर्दा मान्छेहरू तिमीलाई विदेश जानु छैन, जग्गा पनि छैन, किन नागरिकता चाहियो भन्थे। हामीलाई पनि हो जस्तो लाग्थ्यो,' एम्पीले भनिन्, 'अहिले थाहा भयो नागरिकता त चाहिने रहेछ।' 

कठारमा बस्दै आएकी एम्पी माझी। 

यसअघि उनीहरू नागरिकता बनाउन वडाध्यक्ष कारीराम महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएका थिए। प्रमुख जिल्ला अधिकारीले त्यो समूहका सबैभन्दा ज्येष्ठतर्फ हेरेर 'तपाईंहरू कहाँबाट आएको' भनेर सोधे।

'बिहानैदेखि रक्सीले मातेका ती बुढालाई झ्वाँक चल्यो र उनले इन्डियाबाट भनिदिए। अनि त हामीले पनि नागरिकता पाएनौं,' एम्पी भन्छिन्।

बस्तीका अर्का बासिन्दा रामु माझीले २०४७ देखि २०६४ सालसम्मका निर्वाचनमा मतदान गरेका छन्। २०६४ सालमा गाउँमा आइपुगेको नागरिकता वितरण टोलीले उनीहरूसँग थुप्रै कागजात माग्यो। नागरिकता भने नदिएको उनले बताए।

'भरतपुरमा सिडिओलाई भेट्न पनि गयौं तर नागरिकता बनाइदिएनन्। आशैआशमा बुढापाका मरिसके,' उनले भने।

रामु आफ्ना छोरालाई वैदेशिक रोजगारीमा पठाउन चाहन्छन्। नागरिकता नभएकैले सकिरहेका छैनन्। रामुकी श्रीमतीको भने माइतीबाट बनाएको नागरिकता छ। तर आमाको नागरिकताबाट बच्चाहरूको जन्मदर्ता समेत हुन नसकेको गुनासो उनले गरे।

कुल १३० जनसंख्या रहेको यो बस्तीका ८३ जना नागरिकताका लागि योग्य छन्। तर आफ्नै जमिन नभएका उनीहरू नागरिकता, व्यक्तिगत घटना दर्ता जस्ता आधारभूत अधिकारबाटै बञ्चित छन्। यहाँ २०२७ सालदेखि नै माझी बस्ती रहेको बताउने बवन चौधरी बसोबासकै आधारमा पनि यो समुदायका व्यक्तिले नागरिकता पाउनुपर्ने जिकिर गर्छन्।

'यही देशमा बसिरहेका, यहीँ काम गरिरहेकाले नागरिकता पाउनुपर्छ। सरकारले छानबिन गरोस्, हामी मुचुल्कामा हस्ताक्षर गर्न तयार छौं,' ५० वर्षीय बवनले भने।

उनका अनुसार खोला किनार अस्थायी बसोबास गर्ने र माछा मार्ने यहाँका माझीहरू तराईमा मुसहर भनेर चिनिने समुदायका हुन्। 

माझी बस्तीका बासिन्दा

देशको मध्यभागमा रहेको विकसित मानिने जिल्ला चितवनको यो बस्तीमा आइपुगेर समय टक्क रोकिए जस्तो लाग्छ। यहाँका बासिन्दाको स्मृतिमा हिजोका कुरा धेरै छैनन्।

आफ्नो जीवनमा भएका व्यक्तिगत घटनाको अभिलेख छैन। बाहिरबाट बिहे गरेर आएका महिलाबाहेक कसैको पनि व्यक्तिगत घटना दर्ता छैन। आमाबालाई सन्तान जन्माएको तिथिमिति थाहा छैन। सन्तानको पालनपोषण र शिक्षा त परको कुरा!

यहाँका विद्यार्थीलाई सात कक्षाभन्दा माथि पुग्नै मुश्किल छ।

कठार माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेका अनुसार माझी बस्तीका दुई जना; मुन्नीलाल माझी र अमिर माझी कक्षा १० मा पुगेका थिए। २०७४ सालमा एसइई दिएका उनीहरू उत्तीर्ण हुन सकेनन्।

विद्यालयको तथ्यांकअनुसार हाल यो बस्तीका ८ जना बालबालिका पूर्वप्राथमिक तहमा भर्ना छन्। त्यस्तै कक्षा १ देखि ७ सम्म २६ जना भर्ना भएका छन्। 

'आधाभन्दा बढी विद्यालय आउँदैनन्,' प्रधानाध्यापक घिमिरेले भने।

कठार माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरे। 

कठार माध्यमिक विद्यालयमा अध्ययन गर्दै बालबालिका र विद्यालय। 

२०७८ सालमा सात कक्षामाथि पुग्ने विद्यार्थी एक जना मात्र थिए। प्रथम भएका विनोद माझीले आठ कक्षामा भर्ना भने  लिएनन्। घरमा हुने झैझगडा, आफ्नो जन्मदर्ता नरहेको र स्कुलमा एक जना पनि साथी बनाउन नसकेकाले स्कुल जान मन नभएको उनी बताउँछन्।

चितवनका जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख भूमिलाल शर्मा सुवेदीका अनुसार कक्षा ८ मा पुगेपछि जिल्लास्तरीय परीक्षा हुने भएकाले विद्यालयमा जन्मदर्ता पेस गर्न अनिवार्य छ। 

यो समुदायका अधिकांश अभिभावक मजदुरीका लागि बिहानै घरबाट निस्किन्छन्। घरमा खाना हुँदैन। त्यसैले केटाकेटी भोक मेटाउन बाबुआमाका पछिपछि लाग्ने गरेको यहाँका बालबालिकाको शिक्षाका लागि काम गरिरहेको लुमन्ती आवासका लागि सहयोग समितिकी सामुदायिक परिचालक रञ्जिता खनाल देवकोटा बताउँछिन्।

'अभिभावकमा छोराछोरीलाई नियमित विद्यालय पठाउनुपर्छ भन्ने चेतना नहुँदा प्राथमिक तहमै विद्यालय छोड्नेहरू बढी छन्,' उनले भनिन्।

जेठ १६ गते बिहान बस्तीमा पुग्दा करिब ११ वर्षे एक बालक सडकमा खेलिरहेका थिए। उनले कापी नभएर स्कुल नगएको भने। उनका अभिभावक पनि छोरालाई स्कुल पठाउन उत्साहित देखिएनन्। 

विद्यालयमा गएर बुझ्दा कक्षा २ मा भर्ना भएका उनलाई विद्यालयले नै 'केही दिन विद्यालय नआउनू' भनेको रहेछ। शिक्षकलाई नटेर्ने, आफूभन्दा साना विद्यार्थीलाई पिट्ने उनको स्वभावमा परिवर्तन ल्याउन विद्यालयले प्रयास गरिरहेको रहेछ।

'एकदिन ती बालकले एक कक्षामा पढ्ने बालिकाको संवेदनशील अंगमा जबरजस्ती सुम्सुम्याउने गरेको थाहा लागेपछि उनलाई केही समय घरै बस्न भनिएको हो,' एक शिक्षकले भने।

समुदायका अधिकांश बालबालिकाले आक्रामक व्यवहार पनि देखाउने गरेको प्रधानाध्यापक घिमिरे बताउँछन्। यद्यपि माझी समुदायका बालबालिकामा सिक्ने क्षमता राम्रो भएको शिक्षकहरूको अनुभव छ। केही बालबालिका त कक्षामा पहिलो पनि भएका छन्।

मानसिक रोग विशेषज्ञ डाक्टर सिपी सेढाईंका अनुसार परिवारमा भइरहने झगडा र अभिभावकको अनुशासनहीन व्यवहारका कारण बालबालिका आक्रामक हुन्छन्। यस्तो बेला उनीहरूमा 'फल्टी लर्निङ' हुनपुग्छ।

'परिवार र समाजको गलत व्यवहारका कारण उनीहरूले बदमासी दोहोर्‍याउँछन् र दीर्घकालमा आपराधिक मानसिकताको समेत विकास हुन सक्छ,' डा. सेढाईं भन्छन्।

माझी बस्तीभन्दा करिब सय मिटर पूर्व बस्ने रेवती पाण्डेका अनुसार यहाँका रैथाने थारूहरू मात्रै हुन्।

नुवाकोटबाट ४० वर्षअघि चितवन झरेका पाण्डेका अनुसार पछि बसाइँ सरेर आएका अन्य थुप्रै समुदाय एकआपसमा घुलमिल हुँदै गए। एकअर्काको संस्कृति र सभ्यता संक्रमण हुँदै गयो। दलित माझीहरू भने एक्लिए।

'माझीहरूको बसोबास बढ्दै गयो तर सामुदायिक छलफल वा अरू क्रियाकलापमा उनीहरूको सहभागिता हुन सकेन,' उनले भने।

स्थानीय रेवती पाण्डे। 

माझी र अन्य समुदायबीचको सम्बन्ध मालिक र मजदुर जस्तो मात्रै छ। वरपरका गाउँ–बस्तीमा केही काम पर्‍यो वा श्रमिक चाहियो भने यहाँका मानिसलाई बोलाउँछन्। ज्याला दिन्छन् तर पैंचो–सरसापट चल्दैन। चाडपर्वमा आउजाउ हुँदैन। आडैका ब्राह्मण, क्षेत्री र थारू समुदायका बालबालिका खेल्न पनि माझी बस्तीभित्र नजाने उनले बताए।

'चालीस वर्षअघि मैले देखेको माझी बस्तीको चेतना, सभ्यता अहिले पनि उस्तै छ,' पाण्डेले भने।

पूर्वी चितवनको खैरहनी नगरपालिकाका बासिन्दा एवं जानकार प्रेम रिमालले पनि माझी समुदायलाई कतैबाट पनि सचेतना र विकासतर्फ अघि बढ्ने प्रेरणा नमिलेको बताए। उनका अनुसार यहाँका बहुसंख्यक आदिवासी थारू समुदायमा केही अघिसम्म पहिचान र अधिकारकै समस्या थियो। उनीहरू सामेली प्रक्रियामा भर्खरै प्रवेश गरेका हुन्। यस्तो अवस्थामा दलित माझीहरू सामेलीकरणका लागि प्रेरित हुन सकेनन्।

वडा नम्बर १० की वडा सदस्य एवम् सामाजिक कार्यकर्ता मीरा चौधरी यो समुदायमा प्रौढ कक्षा सञ्चालन गर्न नसकेको बताउँछिन्। सहकारीको सदस्य बनाएर बचतका लागि प्रेरित गर्ने प्रयास पनि असफल भयो।

अरू समुदायलाई भैपरी आउँदा सेवकको आवश्यकता पूर्ति गर्ने माध्यम बनिरहे उनीहरू। त्यस बेलाका ठूलाठालुले स्वार्थवस् मुसहरको उत्थानमा ध्यान नै दिएनन्। ठूलो सहरमा श्रमिकको आवश्यकता पूर्ति गर्ने 'स्लम' जस्तै भइरहे उनीहरू।

अशिक्षा र चरम अभावका कारण माछा, मुसा र घुँगीमाथिको अधिकारमै रूमल्लिएका माझीहरूलाई त्योभन्दा माथिको सपना साँच्न कसैले पनि प्रेरित नगरेको स्थानीय प्रेम रिमाल बताउँछन्।

'अहिले पनि राजा र रैतीको सोच हाम्रो समाजमा व्याप्त छ। त्यसैले गाउँघरका जान्ने–बुझ्ने भनिएकाहरू हुन् वा स्थानीय जनप्रतिनिधि र दलहरू, यी सीमान्तकृतलाई यो दलदलबाट निकाल्ने इमानदार प्रयासका लागि इच्छुक छैनन्,' रिमाल भन्छन्, 'यहाँका ठूलाठालुहरू यो समुदायलाई उपयोग मात्र गर्न चाहन्छन्। दलहरू यस्तो जनसंख्यालाई यही हालतमा बाँच्न अभिशप्त बनाइरहँदा निर्वाचनका बेला हुलहुज्जतमा लगाउन, फर्जी मतदाता बनाउन सजिलो हुने स्वार्थी सोच राख्छन्।'

उनीहरूका लागि बनाइएको एकीकृत बस्तीमा पनि दलहरूको राजनीतिक स्वार्थको गन्ध देख्छन् रिमाल। आवास योजनाका नाममा बजेट निकासा गरेर त्यसबाट कमिसन लिन पनि यो बस्ती बनाइएको उनको दाबी छ।

'एकै ठाउँमा राख्दा उनीहरूलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न सहज हुने र लोककल्याणकारी काम गरेको देखाउन पाइने भएका कारण पनि मुसहर बस्तीमा सरकारले घर बनायो,' उनले भने, 'त्यहाँका बासिन्दामा चेतना भर्न र अन्य सुविधा उपलब्ध गराउन भने उत्सुक भएन।'

बस्तीमा महिला हिंसा, लागुऔषध, बालविवाह, घरेलु मदिरा उत्पादन र सेवन मुख्य समस्या हो। आफ्नै आँखा अगाडिको बस्तीमा यस्तो बिजोग अवस्था हुँदाहुँदै पनि स्थानीय नेता र जनप्रतिनिधिलाई भने वास्तै छैन। 

पूर्व वडाध्यक्ष कारीराम महतो आफ्नो पालामा व्यवस्थित घर बनाएको, नागरिकताका लागि पहल गरेको दाबी गर्छन्। बासिन्दाहरूको व्यवहार परिवर्तन गराउने कोशिस गरे पनि सफल नभएको उनले बताए। 

'आर्थिक विकासका लागि त्यो बेला बंगुरपालन सिकाइयो। तर पाठापाठी अलि ठूलो भएपछि काटेर खाइहाल्ने वा बेचिदिने गर्नुहुन्थ्यो। सिलाइ–कटाइ तालिम दिएर मेसिन नै हस्तान्तरण गरेका छौं। जति प्रयास गर्दा पनि उहाँहरूको व्यवहार परिवर्तन गर्न सकेनौं,' उनी भन्छन्।

यसपालि वडाध्यक्ष निर्वाचित भएका चन्द्रविक्रम चौधरीले यहाँको मुख्य समस्या चेतनाको कमी भएको बताए। आफू भर्खरै आएको भन्दै उनले अब उनीहरूका लागि काम गर्ने दाबी गरे।

खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेती भने गीता माझीको मृत्युपछि मात्रै यो बस्तीबारे थाहा पाएको बताउँछिन्। 

'कुनै पनि चेतना नभएको, मानवीय विचार नै नभएको जस्तो छ यो बस्ती,' उनले भनिन्।

यो समुदायको समस्या आफ्नो कार्यकालका लागि चुनौती रहेको उनको बुझाइ छ। समुदायमा चेतना फैलाएर, संगठित आयआर्जनमा लगाउनेबारे छलफल गरिने उनले बताइन्। 

स्थानीय प्रेम रिमाल भने देशको राजनीतिक नेतृत्वमा संविधान र कानुनका कल्याणकारी व्यवस्थालाई जनस्तरसम्म पुर्‍याउने क्षमता नहुनुले कस्तो परिणाम ल्याउन सक्छ भन्ने उदाहरण यो मुसहर बस्ती भएको बताउँछन्।

(यो स्टोरी खोज पत्रकारिता केन्द्रले तयार पारेको हो।)

सबै तस्बिरः मनिष पौडेल/खोपके

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको