रामेछाप जिल्लामा क्रियाशील तीन शिक्षक सङ्गठनबीच एकता भेला सम्पन्न भएको छ। एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र अखिल नेपाल शिक्षक सङ्गठन (विद्रोही) लगायतका घटकहरूको सहभागितामा शनिबार सदरमुकाम मन्थलीमा भेला सम्पन्न भएको हो।
‘सम्पूर्ण मुक्तिकामी शिक्षक–कर्मचारीहरू एक होऔँ’ भन्ने नारासहित आयोजित भेलाले चक्रलाला श्रेष्ठको संयोजकत्वमा ५७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिको सह–संयोजकमा बेदबहादुर श्रेष्ठ र लक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य झम्क कँडेलले शिक्षकहरूले उठाएका पेशागत हकहित र एजेन्डा कार्यान्वयनमा पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरू थप सक्रिय र जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
विशेष अतिथि बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठ तथा नेकपा केन्द्रीय सदस्य पवन कार्कीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याउनुभयो।
भेलाले ‘ट्रेड युनियन अधिकार, समाजवादी शिक्षा र बृहत् शिक्षक–कर्मचारी एकता’लाई मुख्य एजेन्डा बनाउँदै विभिन्न निर्णय पारित गरेको छ। नयाँ शिक्षा ऐन यथाशीघ्र जारी गरी कार्यान्वयनका लागि सरकारलाई दबाब दिने, शिक्षालाई उत्पादन र श्रमसँग जोड्दै समाजवादी शिक्षा प्रणालीतर्फ उन्मुख गराउने, शिक्षकहरूको सेवा–सुविधा, वृत्तिविकास तथा ट्रेड युनियन अधिकार सुनिश्चित गर्न साझा मोर्चाबाट पहल गर्ने तथा प्रविधिमैत्री, समावेशी र जीवनोपयोगी शिक्षाका लागि कार्यनीति निर्माण गर्ने निर्णय गरिएको जनाइएको छ।
प्रतिक्रिया थप्नुहोस्