रामेछापको मन्थलीस्थित लिटिल स्टार इङ्ग्लिस स्कुल ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
विद्यालयले यस वर्ष ४ जिपिए ल्याउन सफल पाँच जना विद्यार्थीलाई विशेष सम्मान गर्दै शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गरेको हो । सम्मानित हुनेमा सृष्टि श्रेष्ठ, आभास उप्रेती, अभिषेक प्रसाईं, अल्का श्रेष्ठ र स्मृति घिमिरे रहेका छन् । उनीहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल रमेश फुयाल को अध्यक्षतामा आइतबार आयोजित कार्यक्रममा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा विद्यालय स्थापना कालदेखि नै अध्यापनमा संलग्न शिक्षिका राधा लक्ष्मी सुवेदी लाई ३० वर्षे सेवापछि सम्मानसहित बिदाइ गरिएको थियो । उहाँलाई दोसल्ला ओढाएर विद्यालय परिवारले सम्मान प्रकट गरेको थियो ।
यसैबीच, विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरिएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले गुणस्तरीय शिक्षासँगै अनुशासन, सिर्जनशीलता र अतिरिक्त क्रियाकलापमा विद्यालयले खेलेको भूमिका उदाहरणीय रहेको बताउनुभयो । विद्यालयले स्थापनाकालदेखि नै जिल्लामै उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको दाबी गरिएको छ ।








प्रतिक्रिया थप्नुहोस्