रामेछाप । रामेछाप जिल्लाको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले सार्वजनिक गरेको विवरणअनुसार जिल्लाका ८९ सामुदायिक र तीन संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
इकाइका अनुसार परीक्षामा कूल दुई हजार २८० विद्यार्थी सहभागी भएकामध्ये एक हजार ८५४ जना उत्तीर्ण भएका छन् भने ४२६ जना नन–ग्रेडेड (एनजी) भएका छन् । जिल्लाको समग्र ग्रेडिङ प्रतिशत ८१ दशमलव ३२ रहेको छ ।
साधारण धारतर्फ दुई हजार १३६ विद्यार्थी सहभागी भएकामध्ये एक हजार ७१० जना अर्थात् ८० दशमलव ०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्राविधिक धारतर्फ सहभागी १४४ जना सबै विद्यार्थी उत्तीर्ण भई शतप्रतिशत नतिजा हासिल भएको इकाइले जनाएको छ ।
नतिजाअनुसार ३.६१ देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या २८६ रहेको छ । तीमध्ये ३६ जनाले ४.० जीपीए प्राप्त गरेका छन् । त्यसैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने ४११ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ६२४ जना तथा २.४१ देखि २.८० जीपीए ल्याउने ४५७ जना रहेका छन् । २.१० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ७६ रहेको छ ।
प्राप्त नतिजासम्बन्धी विवरण शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले प्रमाणीकरण गर्नुभएको छ ।









प्रतिक्रिया थप्नुहोस्