रामेछाप नगरपालिकाको आयोजना र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको सहकार्य तथा साझेदारीमा ‘प्रारम्भिक बालविकासका लागि अभिभावक सिकाइ मेला २०८३’ बिहिबार भव्य रूपमा सम्पन्न भएको छ । बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिका र शिक्षण सिकाइबारे सचेतना जगाउने उद्देश्यले आयोजित सो कार्यक्रम रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि एवं बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले बालबालिकाको उज्ज्वल भविष्यका लागि यस्ता मेलाले अभिभावकहरूलाई थप जिम्मेवार बनाउने बताउनुभयो । मेलामा बालबालिकाको सिकाइका लागि आवश्यक पर्ने सामग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो, जसमा परम्परागत औजारहरू हलो, जुवा, ढिकी, जाँतोदेखि आधुनिक विज्ञान र शिक्षण सिकाइमा प्रयोग हुने सामग्रीहरू राखिएका थिए ।
मेलाको अवसरमा आयोजित स्टल प्रदर्शनी प्रतियोगितामा भीमेश्वर माध्यमिक विद्यालय, रामपुर प्रथम हुन सफल भएको छ । त्यसैगरी, महाकाली आधारभूत विद्यालय मुडाजोरले द्वितीय र जनता माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेका छन् । श्री जनता आधारभूत विद्यालय तिलबारीले सान्त्वना स्थान प्राप्त गरेको छ । विजयी विद्यालयहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्दै रामेछाप नगरपालिकाकी उप–प्रमुख बालकुमारी कार्की थापाले मेलाबाट अभिभावकले धेरै कुरा सिकेको उल्लेख गर्दै भन्नुभयो, “हामीले बालबालिकालाई विद्यालय त पठाउँछौँ, तर उनीहरूले घरमा कस्तो वातावरण पाइरहेका छन् भन्ने कुराले उनीहरूको भविष्य निर्धारण गर्छ। यो मेला केवल प्रदर्शनी मात्र होइन, अभिभावकहरूका लागि आफ्ना नानीबाबुलाई बुझ्ने र सिकाउने एउटा महत्त्वपूर्ण पाठशाला पनि हो।”
कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले शिक्षा नै सबैभन्दा ठूलो शक्ति भएको र वर्तमान विश्वसँग प्रतिस्पर्धा गर्नुपर्ने समय आएको बताउनुभयो । उहाँले यस्तो प्रभावकारी कार्यक्रम आगामी दिनमा खाँडादेवी गाउँपालिकामा पनि आयोजना गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमको सुखद समापनका अवसरमा मेलालाई सफल पार्न विभिन्न तवरबाट सहयोग पुर्याउने सहयोगी हातहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रम सम्पन्न गर्न अहोरात्र खटिने र सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरूलाई कदरस्वरूप प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।



प्रतिक्रिया थप्नुहोस्