सन् २०५० सम्म विश्वभर क्यान्सरका नयाँ बिरामी ६७ प्रतिशतले बढ्न सक्ने

सन् २०५० सम्म विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या ६७ प्रतिशतले बढ्न सक्ने चेतावनीसहित नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएको छ ।

जनसंख्या वृद्धि र वृद्धवृद्धाको संख्या बढ्दै जाँदा क्यान्सरको भार उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको हो । अमेरिकन क्यान्सर सोसाइटी र विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर झण्डै २ करोड १० लाख नयाँ क्यान्सरका बिरामी फेला परेका थिए भने ९८ लाख को क्यान्सरका कारण ज्यान गएको थियो ।

अनुसन्धानकर्ताहरूले सन् २०५० सम्म वार्षिक नयाँ क्यान्सरका बिरामीको संख्या ३ करोड ४० लाख पुग्ने प्रक्षेपण गरेका छन्, जुन अहिलेको तुलनामा ६७ प्रतिशत बढी हो ।

यो वृद्धि मुख्यतः जनसंख्या वृद्धि र औसत आयु बढ्नुका कारण हुने प्रतिवेदनमा छ । जसमा फोक्सोको क्यान्सर विश्वभर सबैभन्दा धेरै देखिने र सबैभन्दा बढी ज्यान जाने क्यान्सर बनेको छ ।

यसको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन रहेको उल्लेख छ । सुर्तीजन्य पदार्थको प्रयोग त्याग्ने, मदिरा सेवन घटाउने, स्वस्थ तौल कायम राख्ने, नियमित व्यायाम गर्ने, क्यान्सरसँग सम्बन्धित संक्रमणबाट बच्ने, समयमै परीक्षण गर्ने र उपचारमा पहुँच बढाउने हो भने लाखौँ जीवन बचाउन सकिने अनुसन्धानकर्ताहरुको भनाइ छ । 

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको