निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट १५० जना लाभान्वित


रामेछाप । गाउँका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले रामेछापको बाबियाखर्कमा आयोजित एकदिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट १५० जना स्थानीय लाभान्वित भएका छन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजना तथा श्री शारदा संस्कृत माध्यमिक विद्यालय (रामेछाप–८, बाबियाखर्क) को समन्वयमा बुधबार सो शिविर सञ्चालन गरिएको हो ।
शिविरमा स्थानीय नागरिकको स्वास्थ्य परीक्षण, आयुर्वेदिक औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा निःशुल्क प्रदान गरिएको थियो । सो क्रममा उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पुरानो खोकी, हाडजोर्नी, पिनास, नसासम्बन्धी समस्या, छालाका रोग तथा बाथलगायतका स्वास्थ्य समस्याको विशेषज्ञ चिकित्सकद्वारा परीक्षण गरिएको थियो ।
चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीका अनुसार शिविरमा आउने बिरामीलाई आवश्यक परामर्शका साथै अवस्था हेरेर निःशुल्क आयुर्वेदिक औषधिसमेत उपलब्ध गराइएको थियो । शिविरमा डा. उत्तम गैरे र डा. अरुण टेर्रालगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश्चन्द्र घिमिरेले स्थानीय अभिभावकको माग र आवश्यकतालाई ध्यानमा राखेर चिकित्सालयसँगको समन्वयमा शिविर आयोजना गरिएको जानकारी दिनुभयो । यस्ता कार्यक्रमले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना बढाउनुका साथै समयमै उपचारको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद घिमिरेले अभिभावकहरूमा ग्यास्ट्रिक, दम, बाथ तथा हाडजोर्नीको समस्या बढी देखिएको र विद्यार्थीमा समेत पेट दुख्ने तथा छालासम्बन्धी समस्या दोहोरिन थालेपछि शिविर आयोजना गरिएको बताउनुभयो ।
शिविरमा स्वास्थ्य परीक्षण गराएका अधिकांश बिरामीमा उच्च रक्तचाप, मधुमेह, हाडजोर्नी, पेट तथा नसासम्बन्धी समस्या बढी देखिएको डा. उत्तम गैरेले जानकारी दिनुभयो । उहाँले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान, योग, व्यायाम र आयुर्वेदिक जीवनशैली अपनाउन सके यस्ता रोगबाट बच्न सकिने सुझाव दिनुभयो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका विभिन्न ग्रामीण बस्तीमा नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर तथा घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता अभियानले स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका नागरिकसम्म उपचार र परामर्श पुर्याउन ठूलो राहत मिलेको स्थानीयवासी भनाइछ ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको