रामेछाप नगरपालिकाकाे पहिलो प्राथमिकता सडक पुर्वाधार र कृषिलाइ राखेर काम गरिरहेकाेछ: भोला प्रसाद चापागाई


रामेछाप नगरपालिका हालको आर्थिक वर्षमा विभिन्न विकास योजनाहरूदेखि सेवा प्रवाहसम्म उल्लेखनीय काम गरिरहेको छ। नगरपालिकाको खर्च, योजना, प्राथमिकता, सङ्कट व्यवस्थापन, तथा आगामी रणनीतिहरूको विषयमा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईसँग हजुरको न्युजका लागि गरिएको विशेष कुराकानी गरेका छ ।
हालसम्मको खर्चको अवस्था कस्तो छ?
हालसम्म नगरपालिकाले जम्मा ७६ करोड ८८ लाख ६९ हजार ५५१ रुपैयाँ खर्च गरिसकेको छ । यसमा चालु बजेट ५० करोड र पुँजीगत बजेट २५ करोड रहेको छ । चालु बजेटको ६०.२६ प्रतिशत प्रगति भएको छ भने कुल बजेटको ४९ प्रतिशत खर्च भइसकेको छ ।
सम्झौता भएका योजना तथा कार्यक्रम कति सम्पन्न भए?
यस वर्ष सम्झौता भएका ९५ वटा योजनामध्ये ७४ योजना पूर्ण रूपमा सम्पन्न भइसकेका छन् । बाँकी १४ योजना कोटेसन प्रक्रियामा रहेकाले कार्यान्वयनको क्रममा छन् । हालसम्म ३४ प्रतिशत भुक्तानी सम्पन्न भएको छ ।
आपत्कालीन अवस्थामा प्रशासनको भूमिका कस्तो रहन्छ?
आपत्कालीन व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले ३५ लाख रुपैयाँ छुटाएको छ । सङ्घीय सरकारले ५० लाख र प्रदेश सरकारले १० लाख बजेट उपलब्ध गराएको छ । सङ्घबाट प्राप्त रकमबाट असोज १२ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त सडक मर्मतमा खर्च गरिएको छ भने प्रदेशको बजेट ढिलो गरी प्राप्त भएकोले हालसम्म प्रयोग गरिएको छैन ।
महिला तथा बालबालिकाको सुरक्षामा के कस्ता काम भइरहेका छन्?
रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा गर्ने अभियानमा रहेको छ । बालबालिकाका लागि दीर्घकालीन योजनाहरू सञ्चालन भइरहेका छन् । महिलाहरूलाई लक्षित गर्दै प्रदेश सरकारसँग समन्वयमा गृहिणी महिला सशक्तीकरण कार्यक्रम सञ्चालनमा छ । नगरपालिकाले महिलाहरूलाई उद्यमशील बनाउन विभिन्न पहल थालेको छ, साथै समस्यामा परेका महिलाहरूलाई पनि सहयोग गरिँदै आएको छ ।
कस्ता योजना तथा कार्यक्रमलाई पहिलो प्राथमिकता दिइन्छ?
नगरपालिकाले विकास योजनामा सडकलाई पहिलो प्राथमिकता दिएको छ । त्यससँगै पोषणमैत्री नगर घोषणा, उन्नत भैँसी प्रवर्द्धन कार्यक्रम, र कृषिमा लगानी गर्ने योजनाहरू प्राथमिकतामा छन् । भैँसी पाल्ने कृषकहरूलाई बिमा गर्न प्रोत्साहन दिइएको छ, जसमा बिमाको ५० प्रतिशत अनुदान नगरपालिकाले प्रदान गर्दै आएको छ ।
बेरुजु (अ परीक्षण खर्च) को अवस्था कस्तो छ ?
हाल नगरपालिकामा करिब ३ देखि साढे ३ करोड रुपैयाँको बेरुजु देखिएको छ । यो रकम अघिल्लो कार्यकालदेखि कायम रहेको हो । बेरुजु फर्छ्योटका लागि आवश्यक प्रमाणहरू महालेखा कार्यालयमा पेस गरिएको छ, र यदि ती स्वीकृत भएमा बेरुजु हटाउने प्रक्रिया सहज हुनेछ ।
सङ्घीय सरकारसँगको समन्वय कस्तो छ ?
स्थानीय सरकारले सङ्घीय सरकारसँग समन्वय गर्ने प्रयास गरिरहेको भए पनि अपेक्षित बजेट तथा चासो नपाएको गुनासो गरिएको छ । सङ्घीयताको मर्मअनुसार बजेट नआउँदा धेरै योजनाहरू प्रभावित भएका छन् ।
नागरिक गुनासो कतिको आउने गर्छ ? समाधान कसरी हुन्छ ?
प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नागरिकका गुनासोहरू आउने गर्छन् । नगरपालिकाले उपलब्ध स्रोत र साधनको आधारमा व्यक्तिगत तथा संस्थागत गुनासो समाधानको प्रयास गरेको छ । तर, विद्यालयको भौतिक पूर्वाधार लगायतका समस्या समाधानमा अझै चुनौती रहेको छ ।
सेवा प्रवाह कसरी भइरहेको छ ?
विधि र प्रक्रियाअनुसार कागजात पूरा भएका सेवाहरू तत्काल प्रदान गरिन्छ । अपुग कागजात भएका सेवाहरूमा निर्णय लिएर मात्र प्रक्रिया अगाडि बढाइन्छ ।
आगामी योजनाहरू के छन्?
आगामी योजनाहरू सरोकारवालाहरूको सुझाव र आवश्यकताका आधारमा छनोट गरिनेछ । कृषि, पशुपालन, महिला र बालबालिका सम्बन्धी क्षेत्रमा नयाँ ढङ्गबाट काम हुने छ । तर, सडकलाई फेरि पनि पहिलो प्राथमिकता दिइने छ । साथै, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि योजना बनाइँदै छ ।
नीति र प्रक्रिया बाहिर जान दबाब आउँछ ?
कहिलेकाहीँ त्यस्ता सामान्य कुरा आउने गरे पनि सल्लाह र सहमतिका आधारमा निर्णय गरिने गरेको छ तर म आए पछि दबाबको मैले सामना भने गर्नु परेको छैन ।
जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध कस्तो छ ?
जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध उत्कृष्ट रहेको छ । सबै कर्मचारीबिच सहकार्यमा काम भइरहेको छ जसका कारण नगरका कामले गति पनि लिएको छ ।
अन्त्यमा 
रामेछाप नगरपालिकाले हालका चुनौतीबिच पनि पूर्वाधार, कृषि, महिला र बालबालिकाको क्षेत्रमा प्राथमिकता दिँदै प्रगतिको बाटो लिएको छ । सङ्घीय सरकारसँग अझ राम्रो समन्वय र बजेट व्यवस्थापन भएमा आगामी वर्षमा नगरको विकासको गति अझ तीव्र बन्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको