ढाड भाँचिएको पनि १९ वर्ष व्यतीत भएर आजबाट २० वर्षमा प्रवेश गरेछ । समय कति विगतीमा दौडिँदो रहेछ, कहिलेकाहीँ त लाग्दछ— म यति धेरै समय कसरी बाँच्न सकेँ होला ? दुर्घटनाको त्यो भयावह क्षणमा त मलाई लागेको थियो, म यो धर्तीमा अब केही दिनको मात्र पाहुना हुँ ।

२०६३ साल चैत्र २३ गते शनिबारको दिन थियो । म काठमाडौँको पुतलीसडकस्थित इलेक्ट्रो टेक्निकल सेन्टर र इलेक्ट्रोनिक कन्सर्नमा कार्यरत थिएँ । कार्यालयको काम विशेषले जनकपुर विद्युत् प्राधिकरणसम्मको यात्रा तय गर्नु पर्ने थियो । दिउँसो करिब साढे बाह्र बजेतिर म काठमाडौँबाट प्रस्थान गरेँ । बेलुकी ९ बजेतिर जनकपुर पुगेपछि मेरो त्यस दिनको यात्रा समाप्त भयो । रात्रिको भोजनपश्चात् म आराम गर्नतिर लागेँ ।

भोलिपल्ट चैत्र २४ गते बिहान ६ बजे नै म नित्यकर्म सकाएर तयार भएँ । केही बेरपछि सवारी साधनको पन्चर भएको टायर बनाउन ग्यारेजसम्म पुगेँ । बिहान ८ बजेतिर जानकी मन्दिर र राम मन्दिरको दर्शन गरी भक्तिभावमा रमाएँ । साढे नौ बजेतिर पुनः कार्यालय फर्किएर बिग्रिएका कम्प्युटर, फोटोकपी मेसिन, मुद्रक (प्रिन्टर) र युपिएस् मर्मतमा तल्लीन भएँ । दिउँसो २ बजेसम्ममा सबै काम सम्पन्न भयो । एउटा नबनेको इन्भर्टरको ब्याट्री मर्मतका लागि गाडीमा राखेर म काठमाडौँ फर्कने तयारीमा जुटेँ ।

करिब ३:३० बजेतिर म जनकपुरबाट काठमाडौँतर्फ प्रस्थान गरेँ । बाटोमा इन्धन भरेर केही बेर खाजा खाएपछि पुनः यात्रा निरन्तर अगाडि बढ्यो । साँझ ५:३० बजेतिर बर्दिवासको जङ्गलमा म पुगेको थिएँ । विपरीत दिशाबाट आइरहेको ट्रकसँग आफूले चलाएको कार ठोक्किनबाट जोगाउन खोज्दा अनियन्त्रित भई गाडी सडकभन्दा तल जङ्गलतर्फ खस्यो । त्यसपछि म पूर्ण रूपमा बेहोस भएँ ।

होस खुल्दा कताकता मानिसहरू चिच्याएको आवाज सुनिन्थ्यो । म अत्यन्तै शिथिल अवस्थामा थिएँ । मेरा विगतका कुनै पनि स्मृतिहरू मानसपटलमा थिएनन् । म एउटा जिउँदो लासजस्तै भएको थिएँ । शरीरमा कुनै पीडाको अनुभूति थिएन, सायद चेतना नै हराइसकेको थियो । आफ्नै आँखा अगाडि दुर्घटना भएको देखे पनि मेरो शरीर हलचल गर्न सक्ने अवस्थामा थिएन । मेरो मृत्युले पनि सास फेरिरहेको जस्तो लाग्थ्यो, केवल मुटुको ढुकढुकी मात्र बाँकी थियो ।

कसैले उद्धारका लागि स्टेचर ल्याए । रगतले लतपतिएको मेरो टाउको र हातलाई लुगाले बेर्न थाले । कम्मरभन्दा मुनिको भाग न चलेको आभास हुन्थ्यो, न कसैले छोएको नै थाहा पाइन्थ्यो । म चल्न र चटपटाउन असमर्थ थिएँ । वरपरका मानिसहरू मलिन स्वरमा कुरा गर्दै थिए— "बिचरा ! ढाड भाँचिएछ, आँखा पनि फुटेको जस्तो छ । हात पनि सिसाले काटेर क्षतविक्षत भएछ । यो त अब बाँच्दैन होला, बाँचे पनि के नै गर्न सक्छ र ? बरु चाँडै मरेको भए यसले र यसका आफन्तले दुःख पाउँदैनथे ।"

साँझ ६:३० बजेतिर मलाई नजिकैको अस्पताल पुर्याइयो । त्यहाँका चिकित्सकले आफ्नो सामर्थ्यभन्दा बाहिरको कुरा भएको बताए तापनि दुखाइ कम गर्ने एउटा सुई लगाइदिएको अझै याद छ । उनीहरू मलाई त्यहाँ धेरै बेर राख्न चाहँदैनथे । "यहाँ मर्नुभन्दा बरु बाटैमा मरोस्, छिटो काठमाडौँ पठाइदिऊँ" भन्ने शब्द सुन्दा म झस्किएँ । हिजोसम्मको उन्नाइस वर्षे तन्दुरुस्त ठिटो आज एकै छिनमा लासजस्तै बेसहारा भएको देख्दा मन भक्कानिएर आयो ।

साँझ ७:३० बजे मलाई एम्बुलेन्समा राखियो । मलाई उत्तानो पारेर कसिलो गरी बाँधिएको थियो । म आफ्नो कम्मरमुनिको भागमा बेलाबेला चिमोट्ने गर्थेँ, तर कुनै दुखाइ महसुस हुँदैनथ्यो । दक्षिणकालीको कच्ची बाटोको उकालीओराली गर्दै राति ३ बजेतिर मलाई काठमाडौँको शिक्षण अस्पताल (टिचिङ) पुर्याइयो । त्यहाँ पुगेपछि म सबैका लागि एउटा रमिते पात्र बनेँ । सबैको मुखमा 'बिचरा' भन्ने शब्द मात्र झुुण्डिएको थियो ।

विभिन्न परीक्षणपछि ढाडको शल्यक्रिया गर्नुपर्ने निष्कर्ष निस्कियो । एमआरआई सेवा त्यहाँ उपलब्ध नभएकाले मलाई चाबहिलस्थित मेडिकेयर अस्पताल लगियो । म अर्धमूर्छित अवस्थामा थिएँ । आफन्तका अनुहारमा छाएको निराशा प्रस्ट देखिन्थ्यो । शल्यक्रियाको तयारीका लागि क्याथेटर लगाउँदै गर्दा म केही समयका लागि होसमा आएको थिएँ ।

त्यसपछि मलाई शल्यक्रिया कक्षमा लगियो । माथि तिर हेर्दा ठुला र गोलाकार बत्तीहरू बलिरहेका थिए । हरियो पहिरनमा सजिएका चिकित्सक र नर्सहरूको भिड थियो । कसैले मलाई सुई लगाए त कसैले शरीरमा विभिन्न उपकरणहरू जडान गरे । त्यसपछि म पुनः अचेत भएँ । सायद मेरो शरीरमा कति खेर हतियारहरू चले, मलाई केही पत्तो भएन ।

चैत्र २६ गते बेलुका ५ बजेतिर नर्सले आत्तिएको स्वरमा डाक्टरलाई बोलाउनुभयो— "बेड नं. ३२७ को होस खुल्यो !" म ट्वाल्ल परेर हेरिरहेँ । मलाई लागेको थियो, शल्यक्रियापछि म पहिलाजस्तै हिँडडुल गर्न सक्नेछु । तर, यथार्थ अर्कै थियो । ढाड भाँचिएपछि जीवनको स्वरूप नै बदलिने रहेछ भन्ने कुरा मैले बिस्तारै बुझ्न थालेँ ।

त्यो दिनदेखि मेरो मन र शरीर पूर्ण रूपमा परिवर्तन भयो । यो मेरो दोस्रो जन्म थियो । तर यो जन्ममा मेरो कम्मरमुनिको भाग सधैँका लागि अचेत भयो । न म चल्न सक्छु, न त मलाई दिसा–पिसाब लागेको नै थाहा हुन्छ । विगत १९ वर्षदेखि मेरो दैनिकी यसरी नै ह्वीलचेयरको सहारामा चलिरहेको छ । आज २० औँ वर्षमा प्रवेश गर्दै गर्दा यी केही शब्दहरू कोर्दै छु ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको