प्रिय भविष्य,
तिमी खै कस्तो छौ…?
तिम्रो गुण, तिम्रो रंग अनि तिम्रो आकार खोज्दै जाँदा म आफैँभित्र हराइसकेँ। अनगिन्ती पटक तिमीसँग भेट नहुने हो कि भन्ने डरले हार खाइसकेँ।तर पनि, झिनो आशाको धागो समाउँदै, थकित शरीरलाई फेरि उठाउने कोसिस गरिरहेकी छु। हरेक निदाइ र ब्युँझाइबीच, तिम्रै आकृतिहरू खोजिरहेकी हुन्छु। कामको थकानपछि आउने सानो विश्राममा होस् या विश्रामपछि फेरि सुरु हुने दौडमा—तिमी नै मेरो खोजी हौ।
खै, तिमी कहाँ छौ…?
मानव जीवन त यति छोटो छ, प्रिय… किन यति धेरै सताउँछौ? डर लाग्छ—कहीं हजारौँ प्रयासपछि पनि तिमीसँग भेट नहुँदै, आशाले भरिएको यो सास नै अन्तिम नहोस्। म तिमीलाई आकार दिन नसकेकी हुँ कि, तिमीले मलाई? यही अलमलमै वर्तमानहरू चुपचाप बितिरहेका छन्।
यी वर्तमानहरू पनि कहिल्यै भविष्य थिए। तर आज, उपलब्धीविहीन हुँदै, विस्तारै भूत बन्दै गइरहेका छन्। भविष्यका सपनाहरू, भविष्यकै सीमामा सीमित हुँदैछन्।
“वर्तमानमा बाँच” भन्ने भनाइ कहिलेकाहीँ मन शान्त पार्ने शब्दजस्तो मात्र लाग्छ। किनकि बाहिर निस्केर हेर्दा— तछाडमछाड, अस्वस्थ प्रतिस्पर्धा, फरक दृष्टिकोणहरूको टकराव…जहाँ जितको परिभाषा प्रायः शक्ति र स्वार्थसँग गाँसिएको देखिन्छ। कसैको पीडामा कसैले मस्ती गरिरहेको देख्छु। थाहा पाए पनि नबुझेझैँ गर्ने प्रवृत्तिले पीडितलाई झनै सास्ती दिइरहेको छ।
हरेक ठाउँमा प्रश्नैप्रश्न छन्— क्षमतामा प्रश्न, योग्यतामा प्रश्न, कार्यशैलीमा प्रश्न। यी भारी प्रश्नहरूको उत्तर खोज्दै गर्दा, वर्तमानहरू फेरि भूतमा परिणत भइरहेका छन्।
बाटोमा हिँड्दा, आँखा पुगेसम्म भविष्यप्रतिको चिन्ताले लरखराइरहेका पाइला देख्छु। ८/९ वर्षका बालबालिकालाई सोध्दा— “डाक्टर बन्छु, इन्जिनियर बन्छु, गायक बन्छु” भन्छन्। तर अलि ठूलो भएपछि—“जापानीज पढ्दैछु, कोरियन पढ्दैछु, आइएलटिएस गर्दैछु… भिसाको पर्खाइमा छु।” जीवन विस्तारै सपनाबाट सम्झौतामा झर्दै गएको देखिन्छ।
होटलको दाइ भन्छन्—“पैसा नै सबैभन्दा ठूलो कुरा रहेछ।” अर्को भन्छ—“गरिबीले सपना नै बदलिदियो।” ड्राइभर भन्छ—“कस्ता कस्ता सपना थिए… अब सम्झेर के गर्नु?” गृहिणी दिदीको उत्तर—“सपना ठूला थिए, तर अहिले सास फेर्ने फुर्सद पनि छैन।” तर ७५ वर्षे बाजे भने मुस्कुराउँदै भन्नुहुन्छ—“लाहुरे बन्छु भनेको थिएँ, भएँ… अब सन्तुष्ट छु।”
यी फरक पात्रहरू, फरक कथाहरू । तर एउटा समान धागो । सपनाभन्दा फरक जीवन। जीवनको चक्र यस्तै छ । आशा र निराशाबीच घुमिरहेको। आजभन्दा भोलि राम्रो हुनेछ भन्ने भरोसामा बाँचिरहेको।मार्क ट्वाइनले भनेजस्तै— जीवनका दुई महत्वपूर्ण दिन हुन्छन्— एक, तिमी जन्मिएको दिन, अर्को, तिमी किन जन्मिएको हौ भन्ने थाहा पाउने दिन।
प्रिय भविष्य,
म अझै पनि त्यही उत्तरको खोजीमा लरखराइरहेकी छु। आफ्नै गतिमा हिँड्न खोज्छु, तर समय कहिले रोक्छ, कहिले हतार गर भन्छ। कहिले माया गर्छ, कहिले कठोर बन्छ।
शायद, समयभन्दा माथि कोही छैन। त्यसैले घमण्ड गर्न पनि मन मान्दैन। कहिले मन थाक्छ, दिमागले उठाउँछ। कहिले शरीर हार मान्छ, मनले साहस दिन्छ। यी तीनैबीचको द्वन्द्वमै जीवन अघि बढिरहेको छ। र, यहीँ मैले बुझेकी छु ।भविष्य खोजेर भेटिँदैन, बनाएर महसुस गरिन्छ।
भनाइ पनि त छ— तिमी आफ्नो भविष्य बदल्न सक्दैनौ, तर आफ्नो प्रवृत्ति बदल्न सक्छौ। र जब प्रवृत्ति बदलिन्छ, भविष्य आफैँ नयाँ रंग, नयाँ आकार र नयाँ अर्थ बोकेर तिमी सामु उभिन्छ। त्यसैले प्रिय भविष्य, अब म तिमीलाई खोज्दिनँ । म आफैँलाई बदल्दै, तिमीलाई बनाउँदै अघि बढ्नेछु।
प्रतिक्रिया थप्नुहोस्