पोखरामा अनलाइन सट्टेबाजी गिरोहका ८ सदस्य पक्राउ, २० करोड रुपैयाँको कारोबार

पोखरामा अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको एक अन्तर्राष्ट्रिय गिरोहका ८ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिकामा घर भाडामा लिई सफ्टवेयर कम्पनीको बहानामा सञ्चालित यो गिरोहलाई गण्डकी प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापा मारी पक्राउ गरेको हो ।

बरामद कम्प्युटरहरूको प्रारम्भिक जाँचमा झन्डै २० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भेटिएको छ । गिरोहले भारतीय बैंक तथा डिजिटल वालेटहरू प्रयोग गर्दै टेलिग्राम र ह्वाट्सएपमार्फत प्रयोगकर्ता जोड्ने र क्रिकेट, फुटबल, क्यासिनोमा सट्टा खेलाउने गर्दथ्यो ।

पक्राउ परेकामध्ये ७ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । घटनास्थलबाट ल्यापटप, मोबाइल, भारतीय सिमकार्डलगायत ठूलो परिमाणमा विद्युतीय सामग्री बरामद भएको छ ।

प्रहरीका अनुसार यो गिरोहको मुख्य सञ्चालन केन्द्र भारतमा रहेको र पोखरा एकाइ यसको २७औँ शाखा रहेको पाइएको छ ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको