रामेछाप। रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछापडाँडा भित्री सडक खण्डमा स्कुटर जंगली मृगसँग ठोक्किँदा दुई जना घाइते भएका छन् भने मृगको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आइतबार बिहान करिब ९ः४५ बजे मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि स्कुटर अनियन्त्रित भई मृगसँग ठोक्किएको थियो।
दुर्घटनामा रामेछाप नगरपालिका–८ सल्लेका करिब १८ वर्षीय स्कुटर चालक सञ्जीव तामाङ घाइते भएका छन्। उनको बायाँ कुहिनो तथा दुवै खुट्टामा सामान्य चोट लागेको र मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी स्कुटरमा पछाडि सवार सोही स्थानका करिब १० वर्षीय जेसीज तामाङको पेट र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी हवल्दार रामदिनेश राय यादवको कमाण्डमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलको सुरक्षा व्यवस्थापन गर्नुका साथै आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा करिब २० किलोग्राम तौलको जंगली मृगको घटनास्थलमै मृत्यु भएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गर्न डिभिजन वन कार्यालय रामेछापको टोली पनि घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया थप्नुहोस्