मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयमा शिक्षकले छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेकाे हो।
सुन्दरहरैंचा नगरपालिका वडा नं. १० खोर्सानेमा रहेको उक्त विद्यालयका विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेपछि उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका वडा नं. १० बस्ने सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, सोही नगरपालिका वडा नं. २ बस्ने शिक्षकद्वय ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं. १२ बस्ने ३५ वर्षीय अविरल मास्के रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मकेन्द्र कुमार मिश्रले छात्राहरूलाई अश्लील म्यासेज पठाउने गरेको अनुसन्धानबाट खुलेको बताए । ‘हामी अनुसन्धानकै क्रममा छौँ । पक्राउ परेकाहरूविरूद्ध जाहेरी आउने क्रममा छ,’ उनले भने ।
प्रहरीले भने एक विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान पश्चात् अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेमा कानुनबमोजिम कारबाही हुने जनाएको छ ।





प्रतिक्रिया थप्नुहोस्