चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्धमार्गी नेवार समुदायले मनाउने गुँलाधर्म आजबाट सुरु हुँदैछ। नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुन्छ। नेपाल संवत् प्रारम्भ भएको नौ महिना पूरा भएपछि मनाइने यो पर्वका दुई पक्षलाई ‘गुँलाथ्व’ र ‘गुँलागा’ भन्ने गरिन्छ।
काठमाडौं उपत्यकामा आदिकालदेखि बसोबास गर्दै आएको नेवार समुदायले विशेष धार्मिक श्रद्धा र सांस्कृतिक उत्साहका साथ मनाउने पर्वमध्ये गुँलाधर्म एक हो।
गुँलाधर्मलाई सांस्कृतिक पर्वका रूपमा मात्र नभई धर्म, साधना, तीर्थ, दान–पुण्य र सामुदायिक एकताको पर्वका रूपमा समेत लिने गरिन्छ। यो पर्व अवधिभर विभिन्न धार्मिक स्थलमा पूजा–आराधना गर्ने, चैत्य तथा विहारको दर्शन गर्ने, बाजागाजासहित धार्मिक यात्रा गर्ने र पुण्यकर्ममा सहभागी हुने परम्परा रहिआएको छ।
गुँलाधर्म विशेषगरी काठमाडौं उपत्यकाका नेवार बौद्ध समुदायमा प्रचलित भए पनि यसको धार्मिक तथा सांस्कृतिक अभ्यासमा हिन्दु परम्पराको समेत प्रभाव देखिन्छ। उपत्यकाको धार्मिक जीवनमा हिन्दु र बौद्ध संस्कृतिबीचको समन्वय स्वरूप दुवै धर्मका धार्मिक तथा सांस्कृतिक पक्षहरू यसमा समेटिएका छन्।
बिहान सबेरै उठेर धार्मिक बाजागाजासहित चैत्य, विहार, मन्दिर तथा अन्य पवित्र स्थलको दर्शन गर्ने प्रचलन रहेको छ। विशेषगरी धाः बाजा, न्याकुँलगायतका परम्परागत बाजा बजाउँदै धार्मिक यात्रा गर्ने चलन यस पर्वको विशिष्ट पहिचान मानिन्छ।
यस अवधिमा भक्तजनले दैनिक रूपमा धार्मिक स्थलको दर्शन, पूजा, परिक्रमा तथा प्रार्थना गर्ने गर्छन्। धर्मप्रतिको आस्था, अनुशासन र आत्मशुद्धिलाई गुँलाधर्मको प्रमुख उद्देश्यका रूपमा लिइन्छ। सांसारिक व्यस्तताबाट केही समय अलग रही धर्म, ध्यान, पूजा र सत्कर्ममा आफूलाई समर्पित गर्नु गुँलाको मूल भावना हो।
सनातन परम्परामा दान, जप, तप, तीर्थ र देवआराधनालाई पुण्य प्राप्तिको माध्यम मानिन्छ भने बौद्ध दर्शनमा पनि बुद्ध, धर्म र संघप्रति श्रद्धा, ध्यान, शील, दान तथा पुण्यकर्मलाई महत्त्वपूर्ण स्थान दिइएको छ। यस अर्थमा गुँलाधर्मलाई धार्मिक साधना र सत्कर्मलाई व्यवहारमा उतार्ने एउटा विशिष्ट परम्पराका रूपमा बुझ्न सकिन्छ।
यसको धार्मिक गतिविधि लामो अवधिसम्म चल्ने भएकाले यसलाई विशेष साधना अवधिका रूपमा लिइन्छ। गुँला अवधिमा भक्तजनहरू बिहानै उठेर धार्मिक यात्रामा सहभागी हुन्छन्। कतिपयले नियमित रूपमा स्वयम्भूनाथ, बौद्धनाथ तथा विभिन्न चैत्य, विहार र धार्मिक स्थलमा पुगेर पूजा तथा दर्शन गर्छन्।
धार्मिक यात्राका क्रममा बजाइने परम्परागत बाजागाजाले यस पर्वको वातावरणलाई थप आध्यात्मिक र सांस्कृतिक बनाउँछ। गुँलाधर्ममा स्वयम्भूनाथको दर्शन र परिक्रमा विशेष महत्त्वपूर्ण मानिन्छ। काठमाडौं उपत्यकाको प्रमुख बौद्ध तीर्थस्थल स्वयम्भूमा गुँला अवधिमा भक्तजनको विशेष भीड लाग्ने गर्छ। बिहानैदेखि धार्मिक बाजागाजासहित स्वयम्भू पुग्ने, चैत्य तथा स्तूपको दर्शन गर्ने, दीप प्रज्वलन गर्ने र प्रार्थना गर्ने परम्परा छ।
भक्तजनले श्रद्धापूर्वक तीर्थयात्रा गर्दा मन शान्त हुने, पुण्य प्राप्त हुने तथा धार्मिक जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास राख्छन्। धार्मिक आस्थाका यस्ता अभ्यासले मानिसलाई नियमित सत्कर्म, संयम र सेवाभावमा प्रेरित गर्ने विश्वास गरिन्छ। गुँलाधर्मको अर्को महत्त्वपूर्ण पक्ष दान–पुण्य पनि हो। यस धार्मिक अवसरमा आफूले सकेअनुसार दान गर्नु, आवश्यक परेकालाई सहयोग गर्नु, धार्मिक संस्थालाई सहयोग गर्नु तथा सत्कर्म गर्नुलाई अत्यन्तै पुण्यदायी मानिन्छ।
प्रतिक्रिया थप्नुहोस्