जाजरकोट पहिरो : घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन

भेरी नगरपालिका-२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् ।

हिजाे दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका-२ रिसाङ स्थित विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोका कारण घरहरू भत्किएको तथा जोखिममा परेको जानकारी पाएपछि उद्धारका लागि ५० जनाको टोली परिचालन गरिएको छ ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ५० जनाको टोली खटिएको हो ।

पहिरोका कारण भेरी नगरपालिका-३ स्याला बस्ने पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा-माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ । घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा बसेका छन् । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन् । ती टहरामा हाल मानिस बसोबास नगर्ने जनाइएको छ ।

घाइतेको विवरण

१. भेरी नगरपालिका-२ रिसाङ बस्ने ६० वर्षीय रामबहादुर शाही आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो आउँदा छाती, टाउको र हातमा चोट लागेको छ । अवस्था गम्भीर रहेका उनको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि साउन ३० गते राति २०:३० बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

२. आरन सञ्चालक भेरी नगरपालिका-२ रिसाङ बस्ने ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको छ ।

३. भेरी नगरपालिका-२ चिसापानी बस्ने ५७ वर्षीया भद्राकली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ । अवस्था गम्भीर रहेका उनको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि राति २१:१५ बजे थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

४. भेरी नगरपालिका-१ डौरीकाँडा बस्ने ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन् । अवस्था मध्यम रहेका उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

५. भेरी नगरपालिका-१ डौरीकाँडा बस्ने १६ वर्षीया मनिषा विक शरीरमा चोट लागेर घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

६. सोही स्थानकी ४७ वर्षीया मोतीकला विकको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

७. भेरी नगरपालिका-२ बस्ने करिब ५२ वर्षीय केदार कार्कीको हातखुट्टा तथा शरीरमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि राति २२:५५ बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

८. सोही स्थानकी करिब २३ वर्षीया अनिता कार्कीको बायाँ खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

९. भेरी नगरपालिका-२ रिसाङ बस्ने लक्ष्मी केसीका १० वर्षीय छोरा युनिश शाहीलाई सामान्य चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

१०. सोही स्थानकी ४५ वर्षीया सुन्तली चदराको खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

तीन जना सम्पर्कविहीन

पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका-२ फारुला बस्ने करिब ५४ वर्षीय उमासिंह खत्री, सोही नगरपालिका-२ चिसापानी बस्ने करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका-२ बस्ने करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ । पहिरोका कारण घटनास्थलको अवस्थाबारे थप विवरण आउने क्रम जारी रहेको छ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको