श्री अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष भोला बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष एवं प्रमुख अतिथि हिमाल ढुंगेलले गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्का, नेफ्स्कुन फिल्ड कार्यालय रामेछापका प्रमुख सूर्यबहादुर थापा तथा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो।
वक्ताहरूले पछिल्लो समय सहकारी क्षेत्र बदनाम हुँदै गएकाले त्यसलाई व्यवस्थित गर्न सरकारले सहकारी प्राधिकरण गठन गरेको र प्राधिकरणले सहकारीहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रयास गरिरहेको बताउनुभयो।
सो अवसरमा प्रमुख अतिथि हिमाल ढुंगेलले सहकारी डुबाएर भाग्ने जोसुकैलाई पनि सरकारले नछाड्ने स्पष्ट पार्नुभयो। साना तथा मझौला सहकारी सञ्चालनमा पछिल्लो समय चुनौती बढ्दै गएको उल्लेख गर्दै उहाँले सहकारीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न शेयर सदस्यहरूको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो।
साधारण सभामा जेष्ठ बचतकर्ता महिला तर्फ शुभलक्ष्मी थापा मगर, पुरुष तर्फ बद्रिनाथ उपाध्याय, असल ऋणी तर्फ यज्ञ चौलागाईं, अधिक शेयर खरिदकर्ता तर्फ प्रकाश थापा र अधिक बचतकर्ता तर्फ सबिता उप्रेतीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा कोषाध्यक्ष रमेश ढुंगेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, सोही वर्षको लक्ष तथा यथार्थ आय–व्यय, हासिल उपलब्धि, आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को लक्ष तथा यथार्थ प्रगति र आर्थिक वर्ष २०८२/८३ को अनुमानित लक्ष सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
साधारण सभाले संस्थाकी सचिव सरिता खड्का खत्रीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन समेत पारित गरेको छ।











प्रतिक्रिया थप्नुहोस्