रामेछाप । बागमती प्रदेश सहकारी संघ (प्रस्कुन)को आयोजनामा मन्थलीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी सहकारीकर्मीहरूले मुलुकभरका केही कमजोर सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र बदनाम हुन पुगेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
संघ–संस्थाको सुदृढीकरण तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत “वर्तमान सन्दर्भमा नेतृत्वको भूमिका” विषयक अन्तरक्रियामा सहभागी सहकारी अभियन्ताहरूले सहकारी संस्थाहरूलाई विधि, नीति र सुशासनअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले सहकारी संस्थाहरू कानुन, नीति तथा कार्यविधिअनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो । सहकारीमा सुशासन कायम नगरी ऐन–नियमविपरीत गतिविधि भए आवश्यक कारबाही गरिने उहाँको भनाइ थियो ।
कार्यक्रममा रुपक घिमिरेले सहकारी क्षेत्रको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै सञ्चालकहरूले नियामक निकायहरूसँग समन्वय गरी संस्थाहरूलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका लागि बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।
समापन कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठ र जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहाललगायत वक्ताहरूले सहकारी क्षेत्रलाई बदनाम हुन नदिन विधि र नीतिअनुसार संस्थागत सुधारका कामहरू अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया थप्नुहोस्