शिक्षक परोपकार बचत तथा ऋण सहकारी संस्था लि. मन्थलीको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०६८ सालमा ४० जना शिक्षकको सक्रियतामा स्थापना भएको सहकारीले हाल ३९३ जना शेयर सदस्य पुर्याउँदै एक करोडभन्दा बढी कारोबार गर्न सफल भएको छ।
साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार संस्थाको हाल कुल शेयर पुँजी २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, जम्मा बचत १ करोड २ लाख ३८ हजार ८ सय २१ रुपैयाँ ८२ पैसा, जम्मा ऋण लगानी ६९ लाख ८५ हजार ३ सय ३० रुपैयाँ २३ पैसा र कुल पुँजी तथा दायित्व १ करोड ४१ लाख १३ हजार ९ सय २ रुपैयाँ ९१ पैसा रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापका अध्यक्ष जे.एन. दाहालले सहकारीलाई सामान्य बचत जम्मा गर्ने थलोमा सीमित नराखी पूर्ण वित्तीय सेवा दिने सक्षम र भरोसायोग्य संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले शिक्षकहरूसँग अपार ज्ञान, क्षमता र शक्ति रहेको उल्लेख गर्दै त्यसलाई सहकारीमार्फत एकीकृत रूपमा प्रयोग गर्न सके संस्था अझ धेरै माथि पुग्न सक्ने धारणा राख्नुभयो।
प्रमुख अतिथि दाहालले शिक्षकहरूले आफ्नै सहकारीमार्फत बचत, कर्जा र अन्य वित्तीय कारोबार गर्नुपर्नेमा जोड दिनुहुँदै “शिक्षकहरुको सहकारी भेटी चढाउने थलो होइन, यो सदस्यहरूको साझा वित्तीय संस्था हो” भन्नुभयो। उहाँले बाह्य वित्तीय संस्थामा निर्भर हुनुभन्दा आफ्नै सहकारीलाई बलियो बनाउनेतर्फ सदस्यहरूको सोच र व्यवहार परिवर्तन आवश्यक रहेको बताउनुभयो।
वित्तीय साक्षरताको अभावले समाज र नयाँ पुस्तामा समस्या बढ्दै गएको उल्लेख गर्दै उहाँले शिक्षकहरूले आफ्ना विद्यार्थी र परिवारमा आम्दानी, खर्च, बचत र लगानीसम्बन्धी व्यवहारिक ज्ञान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। “विद्यार्थीलाई केवल सपना देखाउने होइन, आफ्नो परिवेश र आर्थिक यथार्थ बुझाउने शिक्षा पनि आवश्यक छ,” उहाँको भनाइ थियो।
सहकारी ऐन र नियमनकारी निकायबाट आएका नयाँ व्यवस्था चुनौतीपूर्ण भए पनि त्यससँग अनुकूल हुनुपर्नेमा जोड दिँदै दाहालले संस्थाको विनियम संशोधन, सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, ऋण अनुशासन र लेखा सुपरीवेक्षण समितिको सक्रियता अनिवार्य भएको स्पष्ट पार्नुभयो। नियतवश ऋण नतिर्ने प्रवृत्तिप्रति कडा नीति अपनाउनुपर्ने उहाँको सुझाव थियो।
उहाँले सहकारीलाई दीर्घकालीन रूपमा सबल बनाउन शेयर पुँजी वृद्धि, कारोबार विस्तार, तालिम र नेतृत्व विकासमा लगानी गर्नुपर्ने बताउनुभयो। साथै, निवृत्त शिक्षकहरूलाई नेतृत्वमा ल्याउँदै सहकारीमार्फत सक्षम नेतृत्व उत्पादन गर्न सकिने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराउनुभयो।
साधारण सभामा एसईई परीक्षामा ४ जिपिए ल्याउने सविना श्रेष्ठ र समिता भट्टराईलाई जनही नगद ३ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। त्यस्तै, असल बचतकर्ताका रूपमा यसोदादेवी शर्मा र चन्द्रबहादुर कार्की तथा असल ऋणीका रूपमा रामबहादुर सुनुवार र गंगामाया तामाङलाई सम्मान गरिएको छ।
सहकारीका अध्यक्ष लक्ष्मणप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न सभामा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, ट्रेड युनियन कांग्रेसका अध्यक्ष अर्जुन श्रेष्ठ, पूर्व शिक्षक गुञ्जबहादुर श्रेष्ठलगायतले सहकारीको दिगो विकास, पारदर्शिता र सदस्य सहभागितामा जोड दिनुभएको थियो।










प्रतिक्रिया थप्नुहोस्