राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) बीच कार्यगत एकता गरेर अघि बढ्ने निर्णय भएको छ ।
नेफ्स्कुनले पठाएको प्रस्तावलाई स्वीकार गर्दै बैंकले पनि सहकार्यका माध्यमबाट अघि बढ्ने निर्णय गरेको जनाएको छ ।
बैंकका निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरीले दुई संस्थाबीच कार्यगत एकता गर्ने समझदारी भएको जानकारी दिनुभयो । उहाँले निर्णय कार्यान्वयनको जिम्मेवारी नव निर्वाचित सञ्चालक समितिले पाएको बताउँदै यसबाट सहकारी क्षेत्रलाई सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले बचत तथा ऋण सहकारीका संघलाई वित्तीय कारोबारमा रोक लगाएपछि नेफ्स्कुनले राष्ट्रिय सहकारी बैंकसँग सहकार्यका लागि पत्राचार गरेको थियो । नयाँ व्यवस्थाअनुसार ऐन लागू भएको तीन वर्षभित्र बचत तथा ऋण कारोबार बन्द गर्नुपर्ने प्रावधान रहेको छ ।
नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि दुवै संस्था कार्यगत एकताका लागि सहमत भएको बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय सहकारी बैंक नेपाल राष्ट्र बैंकको नियमनभित्र रहेको संस्था हो भने नेफ्स्कुन सहकारी विभागबाट स्वीकृत संस्था हो ।
उहाँले यो प्रक्रिया मर्जर नभई आ–आफ्नो मूल जिम्मेवारीमा केन्द्रित हुने उद्देश्यसहितको सहकार्य भएको स्पष्ट पार्नुभयो । बैंकले वित्तीय सेवा र नेफ्स्कुनले गैर–वित्तीय क्षेत्रमा काम गर्ने समझदारी भएको उहाँको भनाइ छ ।
नेफ्स्कुनले स्थिरीकरण, तालिम, क्षमता अभिवृद्धि तथा सूचना प्रविधि विकासमा ध्यान केन्द्रित गर्ने जनाइएको छ । विगतमा ब्याजदरका विषयमा देखिएको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्दै सहकार्यलाई व्यवस्थित बनाइने ढकालले बताउनुभयो ।
दुवै संस्थाले कार्यगत एकताको मस्यौदा तयार पार्ने जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई दिएका छन् । मस्यौदा तयार भएपछि दुवै संस्थाबाट दुई–दुई जना सञ्चालक र दुई सीईओ सहभागी हुने गरी ६ सदस्यीय कार्यदल गठन गरेर प्रक्रिया अघि बढाइने सहमति भएको छ ।
राष्ट्रिय सहकारी बैंकको पछिल्लो वित्तीय विवरणअनुसार बैंकको सेयर पुँजी दुई अर्ब ९१ करोड ४३ लाख रुपियाँ रहेको छ । सञ्चित नाफा भने तीन अर्ब ८१ करोड ३८ लाख रुपियाँ ऋणात्मक रहेको छ ।
बैंकसँग चार अर्ब ६ करोड ५२ लाख रुपियाँ जगेडा कोष रहेको छ । कुल दायित्व तथा पुँजी ४६ अर्ब ३९ करोड ४८ लाख रुपियाँ पुगेको छ ।
बैंकले ४३ अर्ब ९ करोड ६३ लाख रुपियाँ निक्षेप संकलन गरेको छ भने १० अर्ब ८३ करोड ८३ लाख रुपियाँ ऋण प्रवाह गरेको जनाएको छ । चालु आर्थिक वर्षको नौ महिनामा बैंकले ७१ लाख २२ हजार रुपियाँ नाफा कमाएको छ । बैंकको निष्क्रिय कर्जा ३८ दशमलव शून्य ५ प्रतिशत रहेको छ ।
हाल बैंकका १६ हजार ४९७ सेयर सदस्य, ५७ शाखा तथा करिब ३०० कर्मचारी रहेका छन् । बैंकले पछिल्लो समय शाखा तथा कर्मचारी संख्या घटाउने कामलाई तीव्रता दिएको छ ।
नेफ्स्कुनको पछिल्लो वित्तीय विवरणअनुसार संस्थाको सेयर पुँजी एक अर्ब ४३ करोड ३३ लाख रुपियाँ रहेको छ भने ५३ करोड ५४ लाख रुपियाँ जगेडा कोष रहेको छ ।
संस्थाले १६ अर्ब ४४ करोड ८ लाख रुपियाँ बचत संकलन गरेको छ भने ६ अर्ब १८ करोड १ लाख रुपियाँ ऋण प्रवाह गरेको छ ।
नेफ्स्कुनसँग सात अर्ब ७६ करोड ३९ लाख रुपियाँ तरलता रहेको छ । कुल सम्पत्ति १९ अर्ब २९ करोड ७९ लाख रुपियाँ रहेको संस्थाले जनाएको छ ।
नेफ्स्कुनका कुल ४ हजार ३८६ सदस्य तथा ४३१ ऋणी रहेका छन् । संस्थाले पनि पछिल्लो समय कारोबार, शाखा तथा कर्मचारी संख्या घटाउँदै लगेको जनाएको छ ।










प्रतिक्रिया थप्नुहोस्