प्रमुख अतिथि दाहालले सहकारीलाई सामान्य बचत संकलन गर्ने थलोमा सीमित नराखी पूर्ण वित्तीय सेवा दिने सक्षम, अनुशासित र भरोसायोग्य संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। २०६८ सालमा ४० जना शिक्षकबाट सुरु भएको उक्त सहकारीले हाल करिब ४ सय सदस्य, एक करोडभन्दा बढी कारोबार र सुदृढ आर्थिक अवस्था सम्मको यात्रा तय गरेको उल्लेख गर्दै उहाँले यस प्रगतिलाई सामूहिक विश्वास, अनुशासन र नेतृत्वको परिणाम भएको बताउनुभयो।
“शक्ति, ज्ञान र क्षमता शिक्षकहरूसँगै छ, त्यसलाई एकीकृत गरेर सहकारीमार्फत प्रयोग गर्न सक्यौँ भने संस्था अझ ठूला लक्ष्यतर्फ जान सक्छ,” दाहालले भन्नुभयो।
उहाँले शिक्षकहरूले आफ्नै सहकारीमार्फत बचत, कर्जा तथा वित्तीय सेवा लिनुपर्नेमा जोड दिँदै सहकारीलाई भेटी चढाउने थलो होइन, सदस्यको साझा वित्तीय संस्थाका रूपमा बुझ्न आग्रह गर्नुभयो। बाह्य वित्तीय संस्थामा निर्भर हुने प्रवृत्तिले सहकारी कमजोर बनाउने भन्दै सम्पूर्ण वित्तीय कारोबार यहीँ केन्द्रित गर्नुपर्ने उहाँको भनाइ थियो।
सभामा दाहालले वित्तीय साक्षरता आजको अनिवार्य आवश्यकता भएको उल्लेख गर्नुभयो। शिक्षकहरूले विद्यार्थीलाई ठूलो सपना देखाउनुका साथै आफ्नै आर्थिक अवस्था, परिवेश र यथार्थ बुझ्ने शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउँदै आम्दानी, खर्च, बचत र लगानीको सन्तुलन सिकाउने जिम्मेवारी पनि शिक्षकमै रहेको बताउनुभयो।
सहकारी क्षेत्रमा पछिल्लो समय लागू भएका नयाँ कानुनी र नियमनकारी व्यवस्थाबारे उल्लेख गर्दै उहाँले विनियम संशोधन, आन्तरिक नियन्त्रण प्रणाली, लेखा सुपरीवेक्षण समितिको सक्रियता र ऋण अनुशासनलाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिनुभयो। नियतवश ऋण नतिर्ने प्रवृत्तिले सहकारीलाई कमजोर बनाउने भन्दै लोन एजिङ प्रणालीमार्फत समयमै ऋण असुलीमा ध्यान दिनुपर्ने उहाँको सुझाव थियो।
सहकारी नियमन प्राधिकरणको स्थापना र नयाँ प्रावधानहरू सहकारीका लागि चुनौतीपूर्ण भए पनि त्यससँग अनुकूल हुनुपर्ने बताउँदै दाहालले नियमविपरीत सञ्चालन भए संस्था नै जोखिममा पर्न सक्ने चेतावनी दिनुभयो। “सहकारी बैंक होइन, तर बैंकभन्दा कमजोर पनि होइन,” उहाँको भनाइ थियो।
दाहालले सहकारीको दीर्घकालीन सबलीकरणका लागि शेयर पुँजी वृद्धि, कारोबार विस्तार, तालिम, नेतृत्व विकास र कर्मचारीको क्षमता अभिवृद्धिमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो। साथै, निवृत्त शिक्षकहरूलाई सहकारी नेतृत्वमा ल्याउँदै नयाँ पुस्ताका लागि सक्षम नेतृत्व उत्पादन गर्न सकिने सम्भावनातर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभयो।










प्रतिक्रिया थप्नुहोस्