सहारा बचत तथा ऋण सहकारी संस्थाको २० औँ स्थापना दिवस मन्थलीमा सम्पन्न

रामेछाप — सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ स्थापना दिवस मङ्गलवार मन्थलीमा मनाइएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शिवराज श्रेष्ठले गर्नुभयो भने नगर प्रमुख लव श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभयो। कार्यक्रमका क्रममा संस्थाका व्यवस्थापक बलराम लामाले संस्थाको आर्थिक अवस्था र गतिविधिबारे जानकारी दिनुभयो। लामाका अनुसार संस्थामा हाल ५ हजार ३१८ बढी शेयर सदस्य आबद्ध छन्। संस्थाले अहिलेसम्म २१ करोड ४१ लाख ४३ हजार रुपैयाँ ऋण लगानी गरेको छ भने २७ करोड ९४ लाख ८४ हजार रुपैयाँ बचत रहेको छ।
संस्थाले कृषि, घर–जग्गा, व्यवसाय र युवा उद्यम अन्तर्गत अटो व्यवसायमा लगानी गर्दै आएको जानकारी लामाले दिनुभयो। उहाँले भन्नुभयो, “आगामी दिनमा प्रविधि मैत्री सेवा सदस्यको हितमा विस्तार हुने छ।”
प्रमुख अतिथि नगर प्रमुख लव श्रेष्ठले सहारा बचतले समुदाय स्तरमा पुर्याएको प्रभावकारी योगदानको प्रशंसा गर्नुभयो। उहाँले सहकारीको प्रारम्भिक उद्देश्य विपन्न र अवसरबाट वञ्चित वर्गलाई आर्थिक गतिविधिमा जोड्नु भएको स्मरण गर्दै, “नीति बनाउने मात्र होइन, कार्यान्वयन गर्न सक्ने वातावरण पनि राज्यले मिलाउनुपर्छ। स्थानीय तह, सहकारी, सदस्य, सञ्चालक, पत्रकार र समुदायबिच समन्वय बलियो बनाउँदा मात्र ‘समृद्ध सदस्य र दिगो समुदाय’को लक्ष्य प्राप्त हुन्छ,” भन्नुभयो।
कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष जे. एन. दाहाल, कानुनी सल्लाहकार झम्क कँडेल, संस्थाका सल्लाहकार बद्री नयाघरे, वडा नं. १ का अध्यक्ष हेम प्रसाद पौडेल र पत्रकार महासङ्घका अध्यक्ष दीपक घिमिरेले पनि शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको